भाडाका सुरक्षाकर्मी किन चाहियो भन्नोस् त !

भाडाका सुरक्षाकर्मी किन चाहियो भन्नोस् त !

सरकारले सुरक्षाकर्मी कटौती गरेपछि पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली आफ्नो जनवर्गीय संगठन भूपूसैनिक–प्रहरी र युवासंघका कार्यकर्ताको सुरक्षा घेरामा रहँदै आएका छन् । ‘उनको सुरक्षा व्यवस्थापनमा महेश बस्नेत, पासाङ शेर्पालगायत खटिएका छन् तर अनौठो संयोग– दुई साताअघि लतितपुरको धोबीघाटको रामवाग महल पार्टी प्यालेसमा केन्द्रीय कमिटी बैठक चलुञ्जेल ओलीका निम्ति दिनको चार लाख तिरेर निजी सेक्युरिटी ‘बोस’ कम्पनीबाट सादा पोशाकमा सुरक्षादस्ता हायर गरिएको थियो । 

अध्यक्षलाई आफ्नै घरछेउ डेरा खोजेर राखेका महेश बस्नेत आफैँ एकपछि अर्को विवादमा मुछिएका पात्र हुन् । सडकमा ‘आइ लभ यु केपी बा’ को नारा घन्काउँदै एस्कर्टिङ हिँडाउने उनी ओलीलाई अप्ठेरो परेका बेला ‘पाखुरीको बल’ देखाउन परे पनि अघि सर्ने गर्छन् । नेकपाकालमा ओलीको सत्ता जोगाउन सांसद किनबेचको प्रयास गरेको आरोप लागेको थियो । तत्कालीन जनता समाजवादी पार्टी (जसपा) मा अन्तरकलह चर्किरहेका बेला महन्थ ठाकुर पक्षीय साँसदलाई भक्तपुरको एक रिसोर्टमा थुनेर सत्ताको गणित मिलाउन उनै खटिए । लकडाउनका बेला रातारात तराई झरेर मधेसी सांसदलाई काठमाडौँ ल्याएको घटना ‘सांसद अपहरण’ का रूपमा बेला बेला चर्चामा आइरहन्छ । संसद विघटनताका प्रचण्ड र माधव नेपालको तेजोबोध गर्न खटाइँदा होस् या अहिले– ओलीको रक्षाकवच बनेर बस्नेत अग्रपंक्तिमा उभिने गरेका छन् ।

ओलीका अर्का कमाण्डर पासाङ शेर्पा बहुविवाहको मुद्दामा अदालतबाट दोषी ठहर भएका व्यक्ति हुन् । एमाले केन्द्रीय सदस्य तथा जनजाति महासंघको अध्यक्ष रहेका उनको विवादित छविलाई लिएर गत शनिबारको सचिवालय बैठकमै प्रश्न उठ्यो । स्रोतका अनुसार सचिव योगेशकुमार भट्टराईले पार्टीमा सांस्कृतिक शुद्धिकरणको विषय छलफल हुने तर निर्णय कार्यान्वयन नहुने अवस्थाप्रति चिन्ता जनाउँदै पासाङको प्रसंग निकालेका थिए । अदालतबाट दोषी ठहर भएका पात्रलाई अध्यक्षले आफूसँगै राखेकोमा असन्तुष्टि जनाउँदै पासाङलाई केन्द्रीय सदस्य र महासंघको अध्यक्षबाट निलम्बन गर्नुपर्ने उनको प्रस्तावमा ओलीले प्रतिवाद गर्दा केहीबेर नोंकझोक नै चल्यो । ओलीले मुद्दा लाग्दैमा कोही दोषी नहुने र अनुशासनको कारवाही आकर्षित नहुने अडान लिएपछि योगेशले आपत्ति जनाएको स्रोत बताउँछ ।

‘बहुविवाहको मुद्दा लागेका मान्छेलाई हामी केन्द्रीय सदस्य बनाएर राख्छौँ’, योगेशले यसो भन्नासाथ ओलीले मुद्दा लाग्दैमा कारवाही गर्नु नपर्ने तर्क गरे । ‘मुद्दा त मलाई पनि लागेको छ नि, मुद्दा लाग्नेबित्तिकै कोही दोषी हुन्छ ?’ अध्यक्ष यसरी बचाउमा उत्रिएपछि योगेशले अदालतबाट दोषी ठहर हुनु र मुद्दा लाग्नु यौटै कुरा हो ? भन्दै प्रतिप्रश्न गरेका थिए । त्यसक्रममा ओलीले दिवंगत नेता सुवास नेम्वाङलाई पनि बहुविवाहको मुद्दा लागेको भन्दै पासाङको थप बचाउ गरेका थिए । ‘सुवास नेम्वाङलाई पनि बहुविवाहको मुद्दा लागेको थियो, उहाँलाई त हामीले नेतै बनायौँ !’ दिवंगत भैसकेका नेतालाई उदाहरण बनाएर एकजना विवादित पात्रको गल्तीलाई ढाकछोप गर्न अध्यक्ष तस्म्सिएपछि योगेश रिसाएको स्रोत बताउँछ ।

सुवासको दृष्टान्त दिएर पासाङको पक्षमा उभिएका ओलीले त्यतिबेला र अहिलेको कानुनी व्यवस्था फरक रहेकोतर्फ भने पूरै नजरअन्दाज गरे । जतिबेला सुवासमाथि बहुविवाहको मुद्दा थियो त्योबेला दोषी ठहर भए पनि जेल जानुपर्ने कानुन थिएन । मुलुकी अपराधसंहिता २०७४, दफा १७५ को उपदफा ४ मा बहुविवाहमा १ देखि ५ वर्षसम्म कैद र १० देखि ५० हजार जरिवाना हुने व्यवस्था छ । गत वर्ष उच्च अदालत पाटनले पासाङलाई बहुविवाहको कसूरमा एक वर्ष जेल सजाय र ५ हजार जरिवाना ठहर गरेको थियो । ‘अदालतले जेल सजाय हुने फैसला गरिसकेको छ तर प्रहरी पक्राऊ गर्दैन । अदालतले फैसला गरेपछि कार्यान्वयन हुनुपर्छ कि पर्दैन ?’ एमालेकै एक नेता भन्छन्, ‘यदि गलत ढंगले मुद्दा लगाएको हो भने पनि अदालतमा पुनरावेदन गरेर क्लिनचिट लिनुप¥यो । यसमा सरकारको पनि कमजोरी देखिन्छ । यस्तै कुराले त हो नि जेनजी विद्रोह निम्त्याउने !’

यही कुरा सचिवालय बैठकमा उठ्दा ओलीले अनेक तर्क जोडेर निलम्बन नगर्ने अडान लिएपछि कुरा त्यसै टुंगिएको स्रोत सुनाउँछ । संविधानसभा सदस्य भएका बेला दलाई लामालाई भेट्न गएका पासाङको विगत निकै विवादित छ । गत वर्ष पार्टी केन्द्रीय कार्यालय च्यासलमा नाङ्गो खुकुरी नचाएका उनी पछिल्लो केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीको विरोध गर्नेहरू ‘विदेशीका एजेण्ट’ हुन् भन्दै अराजक ढंगले प्रस्तुत भएका थिए । एकातिर दलाइ लामासँगको कनेक्सन, अर्कोतिर बहुविवाहको मुद्दा छ । तर ओलीले केन्द्रीय समिति सदस्य बनाइराखेका छन् र कसैले कुरा उठाए हप्कीदप्की खानुपर्ने अवस्था छ ।

यता, आइतबार घोषणा गरिएको युथ भोलेन्टियर फोर्समा पनि यस्तै विवादास्पद चरित्रका पात्रहरूलाई राखिएको गुनासो नेताहरूले गरेका छन् । ओलीलाई प्रमुख अतिथि बनाएर सार्वजनिक गरिएको ९ सदस्यीय कार्यसमितिका सदस्य सिन्धुलीका पुष्प श्रेष्ठमाथि तीनवटा मुद्दा रहेको बताइन्छ । ‘सिन्धुलीको डन’ भनेर चिनिने उनी पनि गुन्डुको सुरक्षामा खटिनेमध्येका एक हुन् । ‘सुरक्षा दिने नाममा ओलीको अघिपछि हिँड्ने धेरै क्रिमिनल ब्याकग्राउण्डका छन्, तिनीहरूलाई समातेर मुद्दा चलाउने हो भने गुन्डुमा भागाभाग हुन्छ’, एमाले स्रोत भन्छ ।

हुन पनि ओलीको सुरक्षामा हिँड्ने एक जना त जेन–जी विध्वंसका क्रममा पूर्वराष्ट्रपतिको घरमा आगजनी गरेको अभियोगमा पक्राउ परिसकेका छन् । आफ्नै पूर्वउपाध्यक्षको घर डढाउने कुकर्ममा संलग्न रहेका राष्ट्रिय युवा संघका कार्यकर्ता सोनम थेबेले समातिनुअघि ललितपुर धोवीघाटस्थित रामबाग महलमा बसेको पछिल्लो केन्द्रीय कमिटी बैठकलाई सुरक्षा प्रदान गरेको भिडियो सार्वजनिक भैसकेको छ । उक्त बैठकमा ओलीको सुरक्षाका लागि बोस कम्पनीका मान्छेलाई दैनिक चार लाख तिरेर हायर गरिएको थियो ।

(जनआस्था साप्ताहिकको कात्तिक १९ गते बुधबारको अंकमा प्रकाशित)

 

टिप्पणीहरू