उपद्रव मच्चाउनेहरु समातिने क्रम जारी

उपद्रव मच्चाउनेहरु समातिने क्रम जारी

जेनजीका नाममा विध्वंश मच्चाउनेहरुविरुद्ध किटानी जाहेरी र पक्राउ पर्ने क्रम जारी छ । काठमाडौंमा मात्र पक्राउ पर्नेको संख्या एक सय ८१ नाघेको छ । जिल्ला प्रहरी परिसरका अनुसार हालसम्म त्यस्ता एक सय ८१ जनालाई नियन्त्रणमा लिइएको छ भने २३ वटा किटानी जाहेरी परेको छ । 

नियन्त्रणमा लिइएकामध्ये ७१ जना हाजिरी जमानीमा छुटेको र ११ जना अदालतको आदेशबमोजिम पुर्पक्षका लागि कारागार चलान भएको काठमाडौं प्रहरी प्रवक्ता उपरीक्षक (एसपी) पवन भट्टराईले जानकारी दिए । उनका अनुसार ९९ जनामाथि भने अनुसन्धान जारी छ । 

‘उहाँहरु हाम्रो हिरासतमा हुनुहुन्छ, अनुसन्धान सकिएपछि मुद्दा चलाउँछौं,’ एसपी भट्टराईले भने । प्रदर्शनका नाममा सरकारी संरचना,निजी आवास तथा व्यापारिक प्रतिष्ठानहरुमा आगजनी, तोडफोड र लुटपाट मच्चाउनेविरुद्ध जाहेरी पर्ने क्रम पनि बढिरहेको उनको भनाइ छ । 

‘केही दिनयता जाहेरी ह्वात्तै बढेका छन्,’ उनले भने । सामाजिक सञ्जालमाथि प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध भदौ २३ गते सडकमा उत्रिएको युवा जमातमाथि तत्कालिन सरकारको दमनले भोलिपल्ट निम्त्याएको भीडमा अराजक र स्वार्थी समूह मिसिँदा उपद्रव मच्चिएको थियोे  ।

त्यसक्रममा मुलुकको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारसहित सर्वोच्च अदालत, संसद् भवन,शीतल निवास,प्रधानमन्त्री कार्यालय,प्रहरी भवनलगायत सयौं सरकारी संरचना,राजनीतिक दलका नेता–कार्यकर्ताका घर र व्यापारिक प्रतिष्ठानहरु जलाइएको थियो । 

यसरी आन्दोलनको नाममा सार्वजनिक तथा निजी सम्पत्ति खरानी बनाउनेहरुलाई प्रहरीले धमाधम समातिरहेको छ भने पीडित पक्षले जाहेरी दिन थालेका छन् ।

टिप्पणीहरू