उता पदभार, यता पदमुक्त
मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादव बिहानै कार्यालय पुगेका छन् । हिजो मुख्यमन्त्री कार्यालयमा तोडफोडसहित दिनभर वातावरण तनावग्रस्त बनेपछि पदभार सम्हाल्न नपाएका उनी आज कार्यालय समयअघि नै त्यहाँ पुगेका हुन् ।
मुख्यमन्त्री यादवले तोडफोडमा संलग्नहरुलाई कारवाही गर्न निर्देशन समेत दिएका छन् । माननीयहरु नै कार्यालय तोडफोडमा उत्रनु दुखद रहेको उनको भनाई छ । हिजो असन्तुष्ट दलका नेता तथा कार्यकर्ताहरुले मुख्यमन्त्री कार्यालयमा राखिएको झण्डा फ्याँक्दै कर्मचारीलाई कुटपिट समेत गरेका थिए । भीडलाई नियन्त्रणमा ल्याउन नसकेपछि यतिबेला जेनजी प्रदर्शनपछि प्रहरीको मनोबल घटेको भन्ने चर्चालाई बल पुर्याएको विश्लेषण भइरहेको छ ।
यता सरकारले प्रदेश प्रमुख सुमिता भण्डारीलाई पदमुक्त गरेको छ । भण्डारीले असंवैधानिक ढंगबाट मुख्यमन्त्री नियुक्त गरेको भन्दै हिजो साँझ बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई पदमुक्त गर्ने निर्णय गरेको हो । नयाँ प्रदेश प्रमुखको लागि सुरेन्द्रलाल कर्णलाई सिफारिस गरिएको छ ।
प्रदेश सरकार गठनविरुद्ध हिजै सर्वोच्च अदालतमा दुई वटा रिट परिसकेको छ ।
टिप्पणीहरू