जेनजीको नाममा वडाध्यक्षको राजीनामा
गाउँपालिका अध्यक्षले असहयोग गरेको भन्दै रोल्पाका एक जनप्रतिनिधिले पद छोडेका छन् ।
माडी गाउँपालिका- २ का वडाध्यक्ष ललित घर्तीले राजीनामा दिएका हुन् । अध्यक्ष अमरसिंह घर्तीले जेनजीको माग सम्बोधन नगरेकाले राजीनामा दिएको उनले बताए ।
गत कात्तिक १४ गते एक हप्ताभित्र सर्वपक्षीय छलफल बोलाउन माग गर्दै जेनजी युवाहरूले पालिकामा आठ बुँदे पत्र बुझाएका थिए । तर, अध्यक्ष घर्तीले त्यसमा चासो नदेखाएको गुनासो वडाध्यक्षको छ ।
जेनजीले कात्तिक २३ गते पुनः सर्वपक्षीय छलफलको माग गर्दै गाउँपालिकाको कार्यालयमा नाराबाजी गरेका थिए । त्यतिबेला आफूले समन्वय गरेर कात्तिक २५ गते छलफलमा बोलाउने गरी युवाहरूलाई घर फर्काएको तर पनि पालिका अध्यक्षले छलफलको लागि कुनै प्रयास नगरेपछि नैतिकताको आधारमा पदबाट राजीनामा दिएको घर्तीले खुलाए ।
सर्वपक्षीय छलफल असफल भएको र जेनजीसँग गरेको वाचा पूरा गर्न नसकेकाले पदमा बसिरहन उचित नहुने ठानेको उनी बताउँछन् । यसबारे गाउँपालिका अध्यक्ष घर्तीसँग विस्तृत बुझ्न खोज्दा सम्पर्क हुन सकेन ।
टिप्पणीहरू