साउनमै खुलेको पार्टीमा रिमा र टासी केन्द्रीय सदस्य

साउनमै खुलेको पार्टीमा रिमा र टासी केन्द्रीय सदस्य

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले खोल्न लागेको भनिएको ‘उज्यालो नेपाल पार्टी’ पहिले नै निर्वाचनमा दर्ता भइसकेको तथ्य खुलेको छ । उनको योजनामा गत साउन २७ गते मानबहादुर तामाङ अध्यक्ष रहेको उज्यालो नेपाल पार्टी दर्ता भएको र आज पूर्व ऊर्जासचिव अनुपकुमार उपाध्याय अध्यक्ष रहेको अद्यावधिक विवरण निर्वाचन आयोगमा बुझाइएको बताइन्छ ।  

आयोगको दल दर्ता हेर्ने महाशाखाका उपसचिव विष्णुप्रसाद पौडेलले उज्यालो नेपाल पार्टी पहिले नै दर्ता भइसकेको र आज अद्यावधिक मात्रै गरिएको जनआस्थासँग पुष्टी गरे । ‘उज्यालो नेपाल पार्टी पहिले नै दर्ता छ’, उनले भने, ‘केन्द्रीय समितिमा सामान्य हेरेफेर गरेर अद्यावधिकको लागि निवेदन आएको छ ।’ 

मन्त्री घिसिङले वैकल्पिक शक्ति निर्माणका लागि पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठ, युवा अभियन्ता सागर ढकाल, काठमाडौँ महानगरपालिकाका मेयर बालेन साह, जेन जी नेता सुदन गुरुङलगायतसँग लामो छलफल गरेका थिए । यद्यपि, उनीहरु अहिले अलग अलग समूहमा विभाजित भइसकेका छन् । सुमनासहित नेताहरुले नेपाल जनसेवा पार्टी नाम राख्नुपर्ने बताए पनि घिसिङले भने उज्यालो नेपाल पार्टी नै राख्नुपर्ने अडान लिएपछि सहमति जुट्न नसकेको स्रोत बताउँछ । 

घिसिङको पार्टीबाट सुमनाहरु बाहिरिँदा अभिनेत्री रिमा विश्वकर्मा र हुम्लाकी टासी ल्हाजोम भने केन्द्रीय समितिमा अटाएका छन् । कुनैबेला एमाले निकट मानिने रिमा पछिल्लो समय केपी शर्मा ओलीको चर्को आलोचक भएकी छन् । जेनजी अभियन्ता टासी मन्त्री बन्न लागेको भन्दै चर्चामा आएकी थिइन् ।

टिप्पणीहरू