उपसचिवको कठालो पालिका अध्यक्षको निशानामा

उपसचिवको कठालो पालिका अध्यक्षको निशानामा

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयभित्र आज अपरान्ह अप्रत्याशित दृश्य देखियो । मन्त्रालयको कोठा नम्बर १५, जहाँ स्थानीय तहका कर्मचारीको खटन–पटन हेर्ने जिम्मेवारीमा रहेका उपसचिव भीमकान्त पौडेल बस्छन् । त्यही कार्यकक्षमा किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरवल तमाङ पुगे र आक्रोशित हुँदै पौडेलको कठालोमा नजर लगाएको बताइन्छ । 

स्रोतका अनुसार, धन्न त्यतिखेर सोही शाखाका अधिकृत पिताम्बर सारुले बीचैमा रोकेपछि झडप हुन नपाएको कर्मचारीहरु बताउँछन् । तर पौडेलमाथिको आक्रोश केवल एक व्यक्तिको थिएन त्यो पूरा प्रणालीमाथिको असन्तोष विस्फोट भएको पालिका अध्यक्ष निकटहरुको भनाइ छ । 

उपसचिव पौडेल एमाले निकट कर्मचारीका रुपमा चिनिन्छन् । उनी यसअघि भगवती न्यौपाने मन्त्री हुँदा पनि स्थानीय तह कर्मचारी प्रशासन शाखाका हर्ताकर्ता थिए। त्यतिबेला उनले ‘निमित्तको राज’ अन्त्य गर्दै उपसचिवहरूलाई नगरपालिकामा र शाखा अधिकृतलाई गाउँपालिकामा पठाउने नीति कार्यान्वयन गरेका थिए। तर अहिले सोही नीतिको उल्टो बाटो चलाइएको छ। 

मन्त्रालयको सोही शाखाबाट हाल धमाधम सरुवा उल्टाइँदैछ। कसैले ‘सही लाइन’ नसमाते सरुवा रोकिने, कसैले ‘बार्गेनिङ’ मिलाए फेरि उल्टिने — यही अभ्यासले मन्त्रालयको स्थानीय कर्मचारी प्रशासन शाखा विवादको केन्द्र बनेको हो ।

मन्त्रालयले पछिल्लो पटक निकालेको सूचीअनुसार नुवाकोटको किस्पाङ गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रूपमा केपी खतिवडालाई दोहोर्याएर पठाइएको छ। खतिवडा पनि एमाले निकट कर्मचारी भएको बताइन्छ । उनी केपी शर्मा ओली प्रधानमन्त्री हुँदा प्रधानमन्त्रीकै सचिवालयमा कार्यरत थिए । कपितयले खतिवडालाई पूर्वमहावाणिज्यदूत नवराज ढकालका नातेदार पनि भन्ने गरेका छन् ।

तर किस्पाङका अध्यक्ष वीरवल तामाङले राज अधिकारीलाई लैजान चाहेको बुझिन्छ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत रहेका उनी किस्पाङमा जाने इच्छा राख्थे। तर मन्त्रालयले राजुलाई नुवाकोटकै दुप्चेश्वरतिर पठाइदियो भने  खतिवडालाई दोहोर्याएर किस्पाङमै पठाएपछि वीरवलको आक्रोश पोखिएको भन्नेहरु छन् । 

किस्पाङ गाउँपालिका लामो समयदेखि निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा चलिरहेको छ। पहिलेका अख्तियारको मुद्दा लाग्नासाथ निलम्बित भएपछि हाल स्वास्थ्य क्षेत्रका कर्मचारी निमित्तको रूपमा छन्। अध्यक्ष तमाङले दर्जनौं पटक मन्त्रालय धाएर स्थायी प्रमुख प्रशासकीय अधिकृत मागे तर अनेक प्रयास निष्फल भएपछि उनी आज रिसाउँदै मन्त्रालय पुगेको बताइन्छ । 

मन्त्रालयमा रहेका एमाले बाहेकका कर्मचारीहरुको उपसचिव पौडेलसँगै शाखा अधिकृत पिताम्बर सारु र एमाले निकट कर्मचारी संगठनका महासचिव आरसी अधिकारी मिलेर कर्मचारी सरुवा प्रणालीलाई नियन्त्रण गरेको आरोप छ । अधिकारीमाथि नायव सुब्बा भए पनि सरकारी गाडी चढ्ने गरेको आरोप पनि उनीहरुको छ ।

उनीहरुले एमाले निकट जनप्रतिनिधि भएका पालिकामा ‘रोजी रोजी’ कर्मचारी पठाउने र इतर दलका पालिकामा प्रमुख प्रशासकीय अधिकृत नखटाई असफल बनाउने योजनामा लागेको कतिपय स्थानीय जनप्रतिनिधिहरू बताउँछन् ।

स्याङ्जाका भीमकान्त पौडेल स्थानीय तह कर्मचारी प्रशासन शाखामा पुगेदेखि नै सो शाखा विवादको केन्द्र बनेको मन्त्रालयका कर्मचारीहरूको बुझाइ छ । अहिले त्यो शाखा ‘बार्गेनिङको केन्द्र’ बनेको उनीहरुको आरोप छ । जहाँ निर्णयभन्दा बढी सिफारिस, नियमभन्दा बढी सम्बन्ध र सन्तुलनभन्दा बढी सत्ता नजिकको हिसाबले चलेको भनिन्छ ।

मन्त्रालयमा देखिएको आजको लफडाले फेरि पुरानै प्रश्नलाई उठाएको छ । संघीयता सफल बनाउने कि असफल ?

टिप्पणीहरू