प्रचण्डलाई एमालेको चिन्ता : ओलीकै कारण खरानी हुने भो
नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भदौ २३ को जेनजी प्रदर्शन र २४ गतेको विध्वंशको मुख्य कारण केपी शर्मा ओलीको अहंकार भएको टिप्पणी गर्नुभएको छ । आज नेकपा र मातृभूमि जागरण अभियानबीचको एकता घोषणा कार्यक्रममा सम्बोधन गर्दै उहाँले एमालेमा फर्किएका केही नेताहरू देखेर आफूलाई अचम्म लागेको बताउनुभयो।
अहिले एमाले अहंकार र दम्भका कारण ध्वस्त भएको घरजस्तो बनेको प्रचण्डको विश्लेषण छ। ‘अहंकारले डढेको, भत्केको र ध्वस्त भएको घरमा के फर्किनु?’ उहाँले प्रश्न गर्नुभयो। उहाँका अनुसार फर्किने नेताहरू पनि उस्तै स्वभावका हुनसक्छन् ।
पूर्वप्रधानमन्त्री प्रचण्डले नेकपा निर्वाचन जित्नको लागि मात्रै बनेको भन्ने हल्लाप्रति आपत्ति जनाउँदै भन्नुभयो, ‘यो कुनै प्राविधिक एकता होइन, मुलुकको आत्मसम्मान र राष्ट्रिय अखण्डता जोगाउन गरिएको हो।’
उहाँले दाहोर्याउँदै भन्नुभयो, ‘जेनजी युवाहरूले भ्रष्टाचारविरुद्ध र सुशासनको पक्षमा शान्तिपूर्ण आन्दोलन गर्दा गरिएको निर्मम दमन र हत्या, अहिले म बढी त भन्दिनँ, तर एमालेका साथीहरू सचेत हुनुपर्छ। लक्षण गतिलो देखिएको छैन।’
टिप्पणीहरू