नयाँ दल दर्ता नहुँदै बबाल

नयाँ दल दर्ता नहुँदै बबाल

वरिष्ठ अधिवक्ता डा.सुरेन्द्र भण्डारीले नेतृत्व गरेको ‘नेपाल नागरिक पार्र्टी’ दर्ताको मुखैमा भताभुंग भएको छ । भण्डारीले दल दर्ताका लागि निर्वाचन आयोगमा दिएको निवेदन आश्चर्यजनक ढंगबाट फिर्ता लिएपछि साथ दिएकाहरू बिच्किँदै बीचैमा छाडेर हिँडेका छन् । उनले गत असोज ९ गते दर्ताका लागि निवेदन दिएका थिए ।

चुनाव चिह्न जेनजीको जुत्ता माग गरिएको थियो । तर अन्य सहभागीलाई थाहा पत्तो नदिई तिहारलगत्तै बीचैमा निवेदन दिएर सुटुक्क फिर्ता लिएका छन् । कारण अहिलेसम्म गुपचुप राखिएको छ । दल दर्ताको निवेदन फिर्ता लिएपछि पार्टी गठनमा साथ दिएकाहरू लाखापाखा भएका छन् । 

पार्टी गठनमा सक्रिय भूमिका निर्वाह गरेका अधिवक्ता अमृत खरेलले आफूहरु प्रक्रियाबाट अलग भएको घोषणा गरेका छन् । ‘अर्गानिक ढङ्गले भुइँ तहसम्म संगठन गर्नुपर्ने मेरो र टिमका साथीहरूको मान्यता रहेकोमा अर्को दलमा मिसिएर जाने विषयमा हाम्रो सहमति नहुनाले अलग भएका छौं, ’ खरेलले भनेका छन् । 

उनले तदर्थ समिति संयोजक तोकिएका डा.सुरेन्द्र भण्डारी नै अर्को पार्टीमा आबद्ध भएको सूचना पाएको दावीसमेत गरेका छन् । ‘नेपाल नागरिक पार्र्टी’ दर्ताका लागि निवेदन दिन अधिवक्ता खरेलसहित, डा.दमनध्वज साउद, लेनिन बिष्ट, डा.कमल किरण कटुवाल, डा.महेन्द्रजंग शाह, नुर मोहम्मद मियाँ, डा.राजेन्द्रप्रसाद न्यौपाने, राजेश काफ्ले, डा.सञ्जय खतिवडालगायत आयोग पुगेका थिए । 

दल दर्ताका लागि विधान, घोषणापत्र, चुनाव चिह्न, झण्डा, केन्द्रीय समितिका सदस्य विवरण र आय श्रोतसम्बन्धी कागजातसमेत पेश गरिसकेको अवस्थामा भण्डारीले एकाएक निवेदन नै फिर्ता लिइदिए । दल खोल्न डा.भण्डारीलाई साथ दिएका एक सदस्यले भनेअनुसार युवराज पौडेल (सफल) ले दर्ता गरेको स्वतन्त्र नेपाली नाम पार्टीमै विलय गराउनेगरी निवेदन फिर्ता लिइएको छ । ‘निर्वाचन आयोगमा डकुमेन्ट पुर्‍याएर दर्ता गर्ने बेला भण्डारीबाट बेइमानी भयो । नेपालको मौलिकतामा आधारित, नेपाली विचार र चिन्तनसहितको दल गठन गर्ने हाम्रो अभियानमाथि अनौठो ढंगले घात भयो,’ ती सदस्यले भने, ‘हामी नै छक्क परेका छौं ।’ 

(जनआस्था साप्ताहिकको कात्तिक १९ गते बुधबारको अंकमा प्रकाशित)

टिप्पणीहरू