उनै जर्नेललाई स्वाद थपेको थप्यै

उनै जर्नेललाई स्वाद थपेको थप्यै

कोही राम्रो अड्डामा पोष्टिङ्ग भएको भयै, कोही पालो पर्खेको पर्ख्यै ! जंगी अड्डामा केही जर्नेल एकपछि अर्को राम्रो अड्डामा सरुवा भइरहँदा केही भने थन्किएर बसेका छन् । कात्तिक १४ गते दुई सहायक रथीको काज सरुवा हुँदा प्रकाशराज थापा सम्भारथी विभागको निमित्त हाकिम तोकिएका छन् । 

ब्याच नम्बर २२०६ भएका उनी सैनिक कल्याणकारी निर्देशनालयमा थिए । दुई तारे जर्नेलमा बढुवा गर्न लागिएका उनलाई सम्भारमा रोजिएको हो । प्रकाशराज नियमित अमेरिका आउजाउ गरिरहने पूर्वप्रधानसेनापति राजेन्द्र क्षेत्रीनिकट अधिकृत हुन् । जगदल गणमा राजेन्द्रको मातहत रहेर काम गरेका उनी एकपछि अर्को राम्रो अड्डामा सरुवा भइरहेका छन् । 

हाल उनलाई द्रव्य भण्डारीको समेत हाकिम बनाएर पठाइएको सम्भाररथी विभाग सेनाको मालदार अड्डामा गनिन्छ । सो विभागले खरिदको काम गर्छ । देशविदेशबाट सबै सामान किन्ने उक्त विभागमा जान जर्नेलहरू मरिहत्ते गर्छन् । गणेश श्रेष्ठ तीन तारेमा बढुवा भएपछि प्रकाशराजलाई ल्याइएको हो । उता, उनले छाडेको कल्याणकारीमा सहायक रथी मनोज बैदवार आएका छन् । 

सेनापतिको सैनिक सचिव विभागअन्तर्गत अतिरिक्त समूहमा राखिएका ब्याच नम्बर २३७८ वाला उनी यसअघि राष्ट्रपति कार्यालयको सुरक्षामा तैनाथ थिए । भदौ २४ गते राष्ट्रपति भवनमा आगजनी हुँदा उनी नै खटिएका थिए । सुवास थापालाई राष्ट्रपति कार्यालय खटाइएकोमा उनी गएका थिएनन् । जसकारण बैदवारले त्यहाँको सुरक्षा जिम्मेवारी सम्हालिरहेका थिए । तिनैलाई शीतलनिवासबाट सिधै सैनिक कल्याणकारी निर्देशनालयमा लगिएको छ । 

एक सैनिक अधिकृत भन्छन्, ‘उनीहरूको पेशागत दक्षता र योग्यतामा प्रश्न होइन तर एउटैलाई मात्र बारम्बार मौका दिइरहनु अरुमाथि अन्याय हो । क्षमता भएका अरुले ठाउँ पाएका छैनन् । उनीहरूलाई पनि चान्स दिनुपर्छ अनि मात्र क्षमता देखाउन पाउँछन् ।’
 

टिप्पणीहरू