मधेशको राजनीतिक किचलोमा एकपछि अर्को गाँठो
मधेशमा प्रदेश सरकार गठनको विवाद थप चर्किदै गएको छ । प्रदेश सभामा प्रतिनिधित्व गर्ने विभिन्न सात दलले आज सभामुख रामचन्द्र मण्डलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् ।
कात्तिक २३ गते तत्कालीन मुख्यमन्त्री जितेन्द्र सोनलले विश्वासको मत लिँदै गर्दा सभामुख मण्डलले तत्कालीन माओवादी केन्द्रका सांसदहरु रहबर अन्सारी र माला कर्णलाई बोल्ने समय दिएर वातावरण बिगारेको दलहरुको आरोप छ । नेपाली कांग्रेस, नेपाली कम्युनिष्ट पार्टी, लोकतान्त्रिक समाजवादी पार्टीसहित सात दलका ७४ सांसदहरुले सभामुख मण्डललाई पदमुक्त गर्न माग गर्दै हस्ताक्षरसहित अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् ।
कात्तिक २४ गते बिहान तत्कालीन प्रदेश प्रमुख सुमित्रा भण्डारीले एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरेयता मधेशको राजनीतिमा तरंग पैदा भएको छ । होटलमा मुख्यमन्त्री नियुक्त गरेर सपथ खुवाउने तत्कालीन प्रदेश प्रमुख भण्डारीलाई सरकारले पदमुक्त गरे पनि दलहरू शान्त छैनन् । उनीहरूले निरन्तर मुख्यमन्त्री कार्यालय परिसरमा धर्ना दिइरहेका छन् ।
टिप्पणीहरू