सिंहदरबारमा तारन्तार बैठक, वायुसेवादेखि निर्वाचनसम्मका कुरा

सिंहदरबारमा तारन्तार बैठक, वायुसेवादेखि निर्वाचनसम्मका कुरा

 प्रधानमन्त्री सुशीला कार्कीलगायत केही मन्त्री र सरकारी उच्च अधिकारीहरु आज दिनभर विभिन्न बैठक र भेटघाटमा व्यस्त भएका छन् । मन्त्रालयस्तरीय समस्या समाधानदेखि निर्वाचन तयारीसम्मका एजेन्डामा छलफल गरिएको बताइन्छ ।

मध्यान्ह साढे १२ बजेदेखि झण्डै एक घण्टासम्म प्रधानमन्त्रीको अध्यक्षतामा मन्त्रालयस्तरीय समस्या समाधान समिति बैठक बसेको थियो । बैठकमा मुख्य सचिव एकनारायण अर्याल, कानुन सचिव फणिन्द्र गौतमलगायत एक दर्जन अधिकारी सहभागी थिए।

त्यसपछि लगत्तै साढे २ बजेसम्म प्रधानमन्त्रीको उपस्थितिमा नेपाल वायु सेवा निगमको बारेमा कुराकानी भएको थियो । अर्थमन्त्री रामेश्वर खनाल, निगमका निमित्त महाप्रबन्धक जनकराज कालाखेतीलगायत निगमका विभिन्न अधिकारीहरु छलफलमा सहभागी थिए ।

सवा ३ बजेदेखि साढे ४ बजेसम्म प्रधानमन्त्रीको उपस्थितिमा बेजिल्लाका मतदातालाई आगामी निर्वाचनका लागि मतदाता नामावलीमा समेट्ने बारेमा छलफल गरिएको थियो । गृहमन्त्री ओमप्रकाश अर्याल, मुख्य सचिव एकनारायण अर्याललगायत झण्डै एक दर्जनको उपस्थिति थियो ।

त्यसअघि दिउँसो मध्यान्हको समयमा गृह मन्त्रालयमा गृहमन्त्री ओमप्रकाश अर्यालसँग नेपालका लागि अस्ट्रेलियाकी राजदूत लीन जोन्स्टोनले शिष्टाचार भेट गरेकी थिइन् ।

टिप्पणीहरू