पूर्व मुख्यमन्त्रीलाई कालोसूचीमा राख्ने तयारी
नेपाली काँग्रेसका नेता तथा बागमती प्रदेशका पूर्व मुख्यमन्त्री बहादुर सिंह लामाको निर्माण कम्पनीले पनि तोकिएको समयमा कार्य सम्पन्न नगरी ठेक्का अलपत्र पारेको छ । सोही कारण हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालय जनकपुरले १५ दिने सूचना प्रकाशित गरेर ठेक्का तोडिने जानकारी गराएको छ ।
कार्यालयले बारम्बार मौखिक तथा लिखित ताकेता गर्दा पनि निर्माण कार्य सम्पन्न नगरी सडक अलपत्र पारेको आरोप लगाएको छ । आगामी १५ दिनभित्र कार्य सुचारु गर्न तदारुकता नदेखाए लामाको तीनथानास्थित कम्पनी हिमदंग एण्ड थोकर र हिरा एण्ड नमिता जेभीलाई कालोसूचीमा राखिने सूचनामा उल्लेख छ ।
उक्त कम्पनीले हुलाकी राजमार्गको शितलपुर–मलंगवा–खरइयाटोल रोड सर्लाही प्याकेज १को ठेक्का लिएको थियो । आर्थिक वर्ष २०७२–७३ म लिइएको ठेक्का एक दशकसम्म पनि पूरा नगरेपछि लामाको कम्पनीलाई कालोसूचीमा राख्न लागिएको हो । जारी सूचनामा अन्य पाँच कम्पनीलाई पनि कालाेसूचीमा राख्न लागिएको जानकारी दिइएको छ ।

टिप्पणीहरू