माधवलाई छाड्ने पहिल्यैदेखिको तयारी
सौराहा महाधिवेशनदेखि नै सर्वसम्मत अध्यक्ष हुने एमाले अध्यक्ष केपी शर्मा ओलीको रहर यसपटक पनि तुहिने देखिएको छ । त्यतिबेला भीम रावलको चुनौती पन्छाउन बाक्सा थाप्नुपरेको थियो भने आगामी मंसिरको महाधिवेशनमा ईश्वर पोखरेलले टक्कर दिन लागेका छन् । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण रोकेर पार्टी सत्तामा रहिरहने योजनामा रहेका ओली ‘घर फर्क अभियान’ का नाममा नवप्रवेशीहरूलाई जोडजाड गरेर आफ्नो गुट बलियो बनाउने रणनीतिमा अघि बढेको देखिँदै छ ।
ओलीबिनाको एमाले कल्पनै गर्न नसकिने भन्दै आएका उनी विद्यासहित दश भाइ समूहका नेतालाई कर्नरमा पार्ने तयारीमा जुटेका छन्, भनिन्छ । पार्टीसम्वद्ध शिक्षा तथा मानव स्रोत विभागले कत्तिक २१ गते शुक्रबार आयोजना गरेको एउटा कार्यक्रममा उनले त्यसको प्रष्ट संकेत दिँदै भने, ‘यसपल्ट महाधिवेशनमा छलफल हुँदैन, म एक बोल्छु अनि महाधिवेशन सकिन्छ ।’ साँच्चै उनले भनेजस्तै हुने हो भने प्रतिनिधिको सार्वभौम अधिकारमाथि प्रहार त हुन्छ नै निरंकुशताको अभ्यासलाई संस्थागत मान्यता दिने पहिलो पार्टी पनि एमाले नै हुनेछ ।
ओलीले नेतृत्वविरुद्ध केही नेताले उपद्रो मच्चाउन थालेपछि एक वर्षअगावै महाधिवेशन गर्न लागेको भन्दै १० भाइ समूहप्रति कठोर टिप्पणीसमेत गरेका छन् । विद्याको पक्षमा उभिएका उपाध्यक्ष सुरेन्द्र पाण्डे र सचिव योगेशकुमार भट्टराईतर्फ इंगित गर्दै चर्को आक्रोश पोखेका उनले उनीहरूलाई अनुशासनहीनको आरोप लगाएका थिए । आलोचकहरूलाई पार्टी छोडेर जान घुमाउरो चेतावनी दिँदै भने, ‘काम नगर्नेहरू गए हुन्छ, काम गर्ने बसे हुन्छ । कसले काम गरेको छ, छैन, कार्यकर्ताले देखेका छन् । कार्यकर्ताले फैसला गर्छ ।’
विगतमा माधव नेपाललाई साथ नदिएर एमालेमै रहेकाहरूलाई पाखा लगाउने योजनामा रहेका ओली रामकुमारी झाँक्रीहरूलाई भने फर्काइरहेका छन् । ओलीलाई गाली गरेरै चार वर्ष बिताएकी रामकुमारी अब ओलीको प्रचारक बनेर निस्किएकी छन् । गोकर्ण विष्ट विद्यातिर लाग्ने भएपछि यौटै जिल्लाकी उनलाई ओलीको गुणगान गाउने शर्तमा फर्काइएको एमाले नेताहरू बताउँछन् ।
त्यसो त, अहिले ठूलो तामझाम गरिए पनि रामकुमारी, किसान श्रेष्ठ, प्रेम आलेलगायत एक वर्ष अगाडिदेखि नै एमालेमा फर्किन खुट्टा उचालेर बसेका थिए । त्यतिबेला सांसद पदसमेत सुरक्षित हुनेगरी संसदीय दल फुटाएर एमालेमा मिसाउने तयारी थियो । दैलेखका अमरबहादुर थापालाई संयोजक बनाएर भित्रभित्र काम गरिरहेका उनीहरूले ओलीलाई दल विभाजनसम्बन्धी अध्यादेश ल्याइदिन पटक–पटक आग्रहसमेत गरेका थिए । तर, शेरबहादुर देउवाले नमानेपछि उक्त योजना सफल भएन ।
सांसद पद जोगाउनका लागि भौतिक शरीर एकीकृत समाजवादीमा भए पनि मनमुटु भने त्यतिबेलैदेखि एमालेमा थियो । प्रतिनिधिसभा विघटन नभएको भए ०८४ को चुनावका मुखमा एमालेमा मिसिने तयारी गरिरहेका थिए । यसबारे ओली र शंकर पोखरेलसँग निरन्तर संवादमा रहेका रामकुमारीहरू अब १२ भाइ समूहको नजिक भएर होइन ओलीको विश्वासपात्र बनेर महाधिवेशनमा सहभागी हुनेछन् । माधव नेपालतिर लागेर मन्त्री खाएकाहरू ‘जुन थालमा खायो त्यसैमा फोहोर गरेर हिँडेको’ भन्दै व्यंग्य गर्नेहरू धेरै छन् ।
विगतमा ओलीलाई चर्को गाली गरेर हिँडेका उनीहरूको भिडियो भाइरल भैरहेको छ । माधव, झलनाथ खनाल र घनश्यामबाहेक अरूलाई टाङमुनि छिराएर ल्याउन सफल भएका ओलीले यिनिहरूको व्यवस्थापन कसरी गर्ने हुन् त्यो भने महाधिवेशनपछि नै थाहा हुनेछ ।
पार्टीमा एकलौटी गर्दै आएका ओली आमरूपमा भने निरन्तर अलोकप्रिय हुँदै गएका छन् । जेनजी आन्दोलनको मुख्य निशानामा परेका उनी ज्यान जोगाउन भाग्नुपरेको थियो । नेपालको इतिहासमै बहालवाला प्रधानमन्त्री निवासबाटै भागेको यो पहिलो घटना हो । संकटको बेला जनता, नेता, कार्यकर्ता कहाँ कस्तो अवस्थामा छन् कुनै पर्वाह नगरी आफ्नो ज्यान जोगाउन हेलिकोप्टर चढेर हिँडेका उनी अवस्था सहज भएसँगै पुरानै हुङ्कार छोड्न थालेका छन् । पार्टी कार्यकर्तालाई जम्मा पारेर हुङ्कार छोडे पनि ओली अहिले पनि त्रसित मनोविज्ञानमा रहेको निजि कम्पनीलाई लाखौँ रकम बुझाएर सुरक्षा दस्ता भाडामा लिएबाट प्रष्ट हुन्छपाल प्रहरीको दुइटा पिएसओ र सशस्त्रका १५ जना सुरक्षाकर्मी हुँदाहुँदै उनले प्राइभेट सेक्युरिटी एजेन्सी ‘बोस’ कम्पनीलाई मोटो रकम तिरेका छन् । ललितपुरको भनिमण्डलस्थित रामबाग महलमा बसेको पछिल्लो केन्द्रीय कमिटी बैठकमा बोस कम्पनीका गार्डले सुरक्षा दिएका थिए । एमाले केन्द्रीय पदाधिकारी र सदस्यहरूले तिनलाई परिचय खुलाएपछि मात्र बैठक हलमा छिर्न पाएका थिए ।
टिप्पणीहरू