कान्तिपथमा नेताहरूको भीड

कान्तिपथमा नेताहरूको भीड

निर्वाचन आयोगमा नयाँ दल दर्ताको लागि दुई दर्जनभन्दा बढी निवेदन परेको छ । तीमध्ये केही दलले दर्ताको प्रमाण पत्र पाइसकेका छन् । केहीको दर्ता प्रक्रिया पूरा हुन बाँकी छ । 

आयोगले नयाँ दल दर्ताको लागि कात्तिक मसान्त (आज)सम्मको समयसीमा तोकेकोमा २८ वटा दलले निवेदन दिएका हुन् । आयोगअन्तर्गत दर्ता फाँटका अधिकृत विष्णु प्रसाद पौडेलका अनुसार दल दर्ताको प्रमाण पत्र पाउनेहरुमा श्रम संस्कृति पार्टी, गतिशील लोकतान्त्रिक पार्टी, नेपाली कम्युनिष्ट पार्टी र नागरिक उन्मुक्ति पार्टी, नेपाल छन् । 

अधिवक्ता रमणकुमार कर्ण अध्यक्ष र अभिनेत्री एलिजा गौतम उपाध्यक्ष रहेको जनादेश पार्टीले प्रमाण पत्र पाइसकेको छैन । अधिकृत पौडेलले भने, ‘जनादेश पार्टीको निवेदन आएको हो, तर दर्ताको प्रक्रिया पुरा भएको छैन, साँझसम्म आउनुहुन्छ कि सनाखतको लागि ! ’ 

त्यस्तै कुलमान घिसिङले खोलेको भनिएको उज्यालो नेपाल पार्टी भने गत साउनमै दर्ता भएको पाइएको छ । अहिले पार्टी पुनर्संरचना गरेर अद्यावधिक मात्रै गरिएको अधिकृत पौडेलले जानकारी दिए । उनका अनुसार दुर्गा प्रसाईंले खोलेको भनिएको नागरिक बचाउ दलले पनि दर्ताको लागि निवेदन दिएको छ, तर प्रमाणपत्र पाउन बाँकी छ । 

दल दर्ताको लागि तोकिएको मिति सकिँदै जाँदा अहिले आयोगमा भीड लागेको हो । दर्ताको लागि निवेदन दिएका विभिन्न दलका नेताहरु आयोग पुगेका छन् । ‘आज अन्तिम दिन हो, निवेदन दिएका धेरैजसो दलले प्रक्रिया पूरा गर्न बाँकी छ, त्यसैले चाप र भीड छ’, कार्यालयमै रहेका अधिकृत पौडेलले थपे ।

टिप्पणीहरू