सरकारले चुनाव गराउन नचाहेको शंकरको ठहर

सरकारले चुनाव गराउन नचाहेको शंकरको ठहर

नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सुशीला कार्की नेतृत्वको सरकारले चुनाव नगराउने ठोकुवा गरेका हुन् ।  

सोमवार रुपन्देहीमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले वर्तमान सरकार चुनाव गर्नको लागि बन्दै नबनेको जिकिरसमेत गरे । सरकारका क्रियाकलाप चुनावकेन्द्रित नभएको शंकरको आरोप छ । 

'यो सरकार चुनाव गर्नको लागि बनेकै होइन', उनले दावाका साथ भने, 'सरकारका क्रियाकलापहरु चुनावतर्फ केन्द्रित छैनन् ।' 

एमाले चुनावबाट भाग्ने पार्टी नभएपनि नहुने निर्वाचनको पैरवी गरेर समय खेर नफाल्ने शंकरको टिप्पणी छ । आफ्नो पार्टी कसैसँग नडराउने बताउँदै उनले स्पष्ट एजेण्डासहित जनतामाझ गइरहेको दाबी पनि गरेका छन् ।

'नेकपा एमाले कहिल्यै पनि चुनावबाट भाग्ने पार्टी होइन । तर नहुने चुनावको पैरवी गरेर समय खेर फाल्दैन', उनले भने, 'निर्वाचन आयोगले मात्र चुनावको कुरा गरेर चुनाव हुदैन । निर्वाचन आयोगले गर्दागर्दै पनि सरकार चुनावको दिशामा छैन भन्ने हाम्रो ठहर हो, निष्कर्ष हो । र यो नै सत्य हो ।'

त्यसक्रममा शंकरले चुनावको पक्षमा रहेका राजनीतिक दलप्रति पनि कटाक्ष गरे । जेनजी रिसाउलान् भन्ने डरले पार्टीहरूले हचुवामा चुनाव भनिरहेको उनको दाबी छ ।

टिप्पणीहरू