ओलीले कुनै हालतमा जिम्मा नलिने
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनमा भएको क्षतिको जिम्मा आफूले नलिने पुन: दोहोर्याएका छन् । भदौ २३ मा भएको राज्य दमनको जिम्मा तत्कालीन प्रधानमन्त्रीले लिनुपर्ने आवाज पार्टीभित्रैबाट उठिरहेको सन्दर्भमा उनको यो प्रतिक्रिया आएको हो ।
विघटित प्रतिनिधिसभाका एमाले सांसदहरूको बैठकलाई पार्टी मुख्यालय च्यासलमा आज सम्बोधन गर्दै ओलीले पार्टीकै नेताहरूले गोली काण्डमा आफूलाई जिम्मेवार ठहर्याउनुलाई नेतृत्वमाथिको हमलाको संज्ञा दिए । आक्रोशित हुँदै भने, 'केही दिनअघि केही नेता कमरेडको अभिव्यक्ति राजीनामा मात्रै गरेर हुँदैन,जिम्मा लिनुपर्छ भनेको सुन्यौँ,अहिले पनि सुनिरहेका छौँ । यस्तो भनाइ एमाले पार्टी र नेतृत्वविरुद्धको स्पष्ट हमला हो । यो लिडरसिपविरुद्धको हमला हो ।'
एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले केही दिनअघि धरहरादेखि लिएर सारा सँरचना आफूले बनाएँ भन्नेले गोली चलेको घटना थाहा पाइनँ भन्न नमिल्ने टिप्पणी गरेका थिए । ओलीले पाण्डेको नाम नलिई भने, 'धरहरा मैले बनाएँ भन्न मिल्ने,गोली कसले चलायो थाहा पाइन भन्न मिल्छ ? जिम्मा लिनुपर्छ भनेर बोलिरहेका छन् । जिम्मा लिनुपर्छ जिम्मा लिनुपर्छ भनेको के हो ? प्रहरी र नेपाली सेनाले भनिरहेको छ परिस्थिति त्यस्तो बन्यो भनेर ।'
त्यसक्रममा ओलीले सरकारमाथि पनि चर्को आक्रोश पोखे । जेनजीहरुले विध्वंस नमच्चाएको तर आन्दोलनपछि बनेको सरकार असंवैधानिक भएको उनको दाबी छ । 'यो सरकार कसले बनायो ? जेनजीले त होइन भन्दै छन् । डिस्कर्डबाट बनाएको रे, टेलिफोनबाट भोटिङ भयो रे । यसरी दुनियाँबाट सरकार बन्छ ?', कटाक्ष गर्दै भने ।
कार्यक्रममा सम्बोधन गर्न पुगेका महासचिव शंकर पोखरेलले पनि सरकारको संवैधानिक हैसियतमाथि कडा प्रश्न उठाए । अध्यक्षकै भनाइलाई पछ्याउँदै उनले भने, 'संविधानले नचिनेको प्रधानमन्त्रीले संसद विघटन गरेकोले यो पहिलो दृष्टिमै गलत छ ।'
सरकारले कुनै पनि हालतमा निर्वाचन गर्न नसक्ने दाबी गर्दै पोखरेलले आन्दोलनमार्फत पार्टीको एजेन्डा जनतामाझ स्थापित गर्दै एमालेलाई सबल शक्तिका रूपमा उभ्याउने उद्घोषसमेत गरे । जेनजी आन्दोलन 'डिप स्टेट' को षड्यन्त्रबमोजिम कसैले अघि सारेको योजना हो भन्दै उनले त्यस्ता पात्रलाई समयमै चिन्न नसक्नु राज्यको कमजोरी भएको बताए ।
आन्दोलनका योजनाकारहरूलाई राज्यद्रोहको आरोपमा दण्डित गर्नुपर्नेमा उल्टै विजेताका रूपमा चित्रण गर्न खोजिएको भन्दै पोखरेलले चर्को असन्तुष्टि पोखेका छन् । यसमा आफ्नो पार्टीको गम्भीर असहमति रहेको उनले सुनाए ।
टिप्पणीहरू