‘यीभन्दा गिरिजा र गोविन्दराज धेरै ठीक’
प्रमुख राजनीतिक दलका नेताहरुले परिवर्तित राजनीतिक अवस्थालाई समेत आत्मसात गर्न नसकेपछि दोस्रो तथा तेस्रो तहका नेता एवम् कार्यकर्ताले नेपाली काँग्रेसका तत्कालीन सभापति तथा प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र गृहमन्त्री गोविन्दराज जोशीलाई सम्झेका छन् । शेरबहादुर देउवालगायत पहिलो पुस्ताका अधिकांश नेताले नेतृत्वमा नयाँ पुस्तालाई अघि सार्ने छाँटकाँट नदेखिएपछि साढे दुई दशकअघिको राजनीतिक अवस्थाबारे चर्चा गरेका छन् ।
नेपाली काँग्रेसका एक जना युवा नेता भन्छन्, ‘डोल्पाको दुनैमा विद्रोही माओवादीले आक्रमण गरेको बेला सेनाले सहयोग नगरेको असन्तुष्टिस्वरूप गृहमन्त्री गोविन्दराज जोशीले राजीनामा दिएका थिए । त्यसैगरी रोल्पाको होलेरीमा माओवादीका नेता तथा कार्यकर्ता,लडाकूलाई तीन दिनसम्म घेरा हालेको तर केही फेला नपरेको खबर बाहिरिएपछि प्रधानमन्त्री गिरिजा प्रसादले राजीनामा दिए ।’
त्यसपछि शेरबहादुर देउवा प्रधानमन्त्री बने । गिरिजाले सुरक्षा निकायले सहयोग नगरेको अवस्थामा सत्तामा टाँसिइरहन आवश्यक नभएको जनाउँदै पद छाडेका थिए । अहिलेको अवस्थामा एमाले अध्यक्ष केपी शर्मा ओलीले भने सुरक्षा निकायहरुमाथि भदौ २३ र २४ गते कुनै भूमिका निर्वाह नगरेको आरोप लगाएको र पुनः सत्तामा जाने आश देखाएपछि एमालेजनले पनि उक्त अवस्थालाई मनन् गर्न सुझाएका छन् ।
यस्तो अवस्थामा पुनर्गठित र नवगठित अधिकांश पार्टीका पहिलो पुस्ताका नेताहरु कोही पनि नेतृत्व छाड्ने मनस्थितिमा देखिँदैनन् । अर्कोतर्फ अन्तरिम सरकारमा प्रधानमन्त्री सुशीला कार्की,ओमप्रकाश अर्यालहरुको हालीमुहाली छ ।
जेन जी विध्वंशमा सुरक्षा निकायको भूमिकामाथि दोष लगाउँदै पुनः पार्टीको उच्च तहमा बस्ने चाहना पुनर्विचार नगरेसम्म पुुराना दललाई आगामी राजनीतिक मार्ग निकै कठिन हुने निश्चित छ । अहिलेको समयमा नेतृत्वबाट हटेर आफ्नै पार्टीभित्रका नयाँ पुस्तालाई अवसर दिँदा ट्र्याक बाहिर जान खोजेको राजनीतिले कम्तीमा बाटो पक्रन सक्छ ।
टिप्पणीहरू