उता कार्यकर्ता पक्राउ, यता सचिवालय बैठक

उता कार्यकर्ता पक्राउ, यता सचिवालय बैठक

नेकपा एमालेको सचिवालय बैठक शुरु भएको छ । ललितपुर महानगरपालिका-०९ च्यासलस्थित पार्टी मुख्यालयमा अहिले बैठक बसिरहेको छ । 

अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकमा बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, विष्णु पौडेल, सुरेन्द्र पाण्डे, गुरुप्रसाद बराल, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, बिष्णुप्रसाद रिमाल, सचिव लेखराज भट्ट, छविलाल विश्वकर्मा,गोर्कण विष्ट, पद्मा अर्याल, रघुवीर महासेठ र योगेश भट्टराई सहभागी छन् ।

११ औँ राष्ट्रिय महाधिवेशनको तयारी, मङ्सिर ५ र ६ गते काठमाडौँमा हुने प्रदर्शन तथा फागुन २१ लाई तोकिएको प्रतिनिधि सभा निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्ने कि नगर्ने भन्नेलगायतका विषय बैठकको एजेण्डा रहेको बताइएको छ । 

एमालेले हिजो सिमरा घटनालगत्तै सचिवालय बैठक बोलाएको थियो । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एमालेका दुई स्थानीय नेतालाई पक्राउ गरेको छ । 

जितपुर सिमरा उपमहानगरपालिका-२ का वडाध्यक्ष धनबहादुर श्रेष्ठ र ६ का कैमुध्दिन अन्सारी समातिएका हुन् । गत स्थानीय तह निर्वाचनमा एमालेबाट वडाध्यक्ष जितेका उनीहरूमाथि जेनजी अगुवा सम्राट उपाध्यायलाई कुटेको आरोप छ ।

टिप्पणीहरू