देउवाकै हस्ताक्षरमा दल दर्ता र टिकट

देउवाकै हस्ताक्षरमा दल दर्ता र टिकट

नेपाली काँग्रेसले आगामी प्रतिनिधिसभा र राष्ट्रिय सभा निर्वाचनमा भाग लिने औपचारिक निर्णय गरेको छ । तर, नियमित महाधिवेशन वा विशेष महाधिवेशन के मा जाने र कहिले गर्ने भन्नेबारे अझै निर्क्यौल भैसकेको छैन । 

असोज २८ गतेको केन्द्रीय समिति बैठकमा सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक तोके पनि काँग्रेस अप्रत्यक्ष रुपमा आगामी चुनावमा देउवाकै नेतृत्वमा होमिने अधिक सम्भावना छ । काँग्रेस राष्ट्रिय सभा निर्वाचनको प्रयोजनार्थ आज निर्वाचन आयोगमा दल दर्ताको लागि जाँदै छ ।

यसो गर्दा माघ २१ गते हुने राष्ट्रिय सभा निर्वाचनको टिकट स्वतः देउवाको हातबाट मात्रै वितरण हुने पक्का छ । वर्तमान सरकार असंवैधानिक तवरले गठन भएको बताए पनि काँग्रेसले आगामी निर्वाचनबाटै वैधानिक सरकार बनाउने उपायलाई उचित ठहर गरेको छ । 

भदौ २४ गतेसम्म काँग्रेससँग सत्ता गठनबन्धनमा रहेको एमाले निर्वाचनमा भाग लिनेबारे औपचारिक रुपमा बोलेको छैन । प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुने नहुनेबारे केही नबताएका पार्टी अध्यक्ष केपी शर्मा ओलीले हिजो राजधानीमा आयोजित कार्यक्रममा पनि संसद पुनर्स्थापनाको मागलाई दोहोर्याएका छन् । तर यो चुनावकै तयारी हो भनेर बुझ्न पनि कठिन छैन ।

राष्ट्रियसभाको आगामी चुनावकै लागि भएपनि एमालेले दल दर्ता नगरी सुखै छैन । सडक आन्दोलनबाटै प्रतिनिधिसभा जगाउने अडानमा रहेको एमालेलाई काँग्रेसको हिजोको निर्णयले दल दर्तामा जानै पर्ने अवस्था उत्पन्न गराइदिएको छ ।

टिप्पणीहरू