जेन जीलाई कांग्रेसमा प्रवेश गराउन तयारी
नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले जेन जी युवालाई पार्टीमा प्रवेश गराउन निर्देशन जारी गरेको छ । दलले मातहतका जिल्ला कार्यसमितिलाई परिपत्र गर्दै आफ्नो जिल्लामा रहेका जेन जी उमेर समूहका युवालाई जिल्लास्थित नेताहरुको उपस्थितिमा दलमा प्रवेश गराउन भनेको हो ।
परिपत्रमा मुलुकको वर्तमान राजनीति अवस्थालाई दृष्टिगत गर्दै र्यालीलगायत मार्च पास गरी कोण सभा गर्न र त्यसमार्फत निर्धारित समयमै निर्वाचनको सुनिश्चितताका लागि सम्बद्ध पक्षको ध्यानाकर्षण गराउन पनि भनिएको छ ।
त्यस्तै, जिल्लास्थित नागरिक समाज, सुरक्षा अधिकारी, जेन जी युवा, निर्वाचन कार्यालयको अधिकारी, मतदातालगायतको उपस्थितिमा अन्तरक्रिया कार्यक्रम गर्न, जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री कार्यालयलाई शान्ति, अमनचयनका लागि ध्यानाकर्षण पत्र बुझाउन, जिल्लाको मतदातालक्षित सचेतना कार्यक्रम गर्न निर्देशन दिइएको छ ।
दलको पाँचौं महाधिवेशनको सन्दर्भमा वितरण हुँदै आइरहेको पूर्ण सदस्यता फाराम वितरण कार्यलाई तीव्र बनाउन, जिल्ला अधिवेशनको तयारी गर्न र पूर्ण सदस्यता केन्द्रबाट स्वीकृत भएपछि मात्र अधिवेशन कार्यक्रम शुरु गर्न निर्देश गरिएको छ ।
टिप्पणीहरू