पूर्व राजा र राजगद्दीमा पूर्व प्रधानसेनापतिको जोड
पूर्व प्रधानसेनापति प्यारजंग थापाले राजसंस्था पुनस्र्थापनाको पक्षमा धारणा सार्वजनिक गरेका छन् । मुलुक जटिल परिस्थितिमा गुज्रिरहेको भन्दै उनले सर्वपक्षीय सहमतिमा राजालाई राष्ट्रप्रमुख बनाएर जानु उपयुक्त विकल्प हुने मत राखेका हुन् ।
नेपाल नीति अध्ययन केन्द्रको नामबाट आज विज्ञप्ति जारी गर्दै पूर्वप्रधानसेनापति थापाले राजसंस्थालाई अभिभावक बनाएर आम निर्वाचनमा जाँदामात्र मुलुकले निकास पाउने दाबीसमेत गरेका छन् । ’राष्ट्रिय एकता शान्ति, स्थायित्व एवम् दीर्घकालीन विकासका लागि हामी नेपालीले आपसी सहमतिबाट नै राजनीतिक निकासतर्फ अगाडि बढ्नु उपयुक्त हुने देखिन्छ’, विज्ञप्तिमा भनिएको छ, ‘अतः यो देश निर्माणकर्ताको रूपमा रहेको राजसंस्थाको अभिभावकत्वमा सबै वर्ग, सबै जाति, धर्म, संस्कृतिलगायतका परम्परागत विषयहरूलाई समाविष्ट गरी संविधान संशोधन, परिमार्जन अथवा पुनर्लेखन गरेपछि मात्र आम निर्वाचन गर्नु उपयुक्त हुने यस केन्द्रको धारणा छ ।’
भूराजनीतिक सन्तुलन कायम गर्दै राजनीतिक अस्थिरताबाट मुलुकलाई पार लगाउन राजसंस्थाको भूमिका महत्वपूर्ण हुने तर्क थापाले गरेका छन् । निःस्वार्थ नेतृत्वको अभावले सृजना भएको कमजोर राष्ट्रिय एकता, आन्तरिक अस्थिरता, परनिर्भर अर्थतन्त्रले गर्दा देश बाह्य शक्ति केन्द्रको खेलमैदान भइ असफल राष्ट्रतर्फ उन्मुख रहेको उनको ठहर छ ।
देशको अवस्था अत्यन्तै खतरनाक मोडमा पुगिसकेकोले राजालाई गद्दीमा फर्काउनुपर्ने धारणा राखेका थापाले अगाडि भनेका छन्, ’देशको राजनीतिक संकट निराकरण र सुशासनका लागि निस्वार्थ, तटस्थ एवम् दूरदर्शी अभिभावकको अभावमा राष्ट्रको सुरक्षा र निर्माणका कार्यहरू चुनौतिपूर्ण बन्दै गएका छन् ।’ यो अवस्थामा प्रस्तावित आम निर्वाचन चुनौतिपूर्ण र अर्थहीन हुनसक्ने उनको अनुमान छ ।
टिप्पणीहरू