फ्लाइओभर बनेपछि पनि ग्वार्कोमा उस्तै जाम

फ्लाइओभर बनेपछि पनि ग्वार्कोमा उस्तै जाम

ठूलो लगानी गरेर र वर्षौं लगाएर निर्माण गरिएको ललितपुरको ग्वार्कोस्थित फ्लाइओभर देखाउनलाई जस्तै बनेको छ । मुलुककै पहिलो फ्लाइओभरको निर्माण सम्पन्न भएतापनि सवारी जाम उस्तै छ । २०७८ फागुन ११ गते फ्लाइओभर निर्माणका लागि सरकार र आशिष, समानान्तर र रेलिगेयर (संयुक्त) जेभीबीच सम्झौता भएको थियो । 

चार लेनमा तीन सय ५० मीटर लम्बाइ भएको उक्त फ्लाइओभरको लागत १७ करोड ६ लाख ८८ हजार ८८८ रुपैयाँ हो । दुई वर्षभित्र निर्माण सम्पन्न गरिसक्ने भनेकोमा फ्लाइओभर बनाउन ३९ महिना लागेको थियो । फ्लाइओभर निर्माणमा ढिलासुस्ती हुँदा सर्वसाधारणले एकदमै धेरै सास्ती खेप्नुपरेको थियो । हरेक दिन सर्वसाधारण घण्टौं जाममा बस्थें । आफ्नो गन्तव्यमा पुग्नलाई घण्टौंअगाडि घरबाट निस्किनुपर्थ्यो । साढे तीन वर्षसम्म सर्वसाधारणले दुःखकष्ट सहेर त्यहाँबाट यात्रा गरे । 

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गत असार ६ गते फ्लाइओभरको उद्घाटन गरेका हुन् । फ्लाइओभरको उद्घाटनपछि जाम हट्ने अपेक्षा गरिएको थियो । तर, अहिलेपनि अवस्था त्यस्तै छ । ग्वार्कोमा जाम सदाबहारजस्तै भएको छ । अफिस टाइममा त झन् धेरै जाम हुन्छ । सरकारले जाम हटाउने उद्देश्यले फ्लाइओभर निर्माण त गर्यो, तर त्यो प्रयोगविहिनजस्तै बनेको छ । 

एकाधबाहेक सबै गाडी अहिलेपनि तलबाटै गुड्छन् । जसका कारण ग्वार्कोमा फ्लाइओभर निर्माण भएपनि सवारी जाम नघटेको हो । ट्राफिक प्रहरीलाई सवारी व्यवस्थापन गर्न हम्मेहम्मे पर्ने गरेको छ । सार्वजनिक यातायातहरु फ्लाइओभरबाट गुड्दैनन् । ट्रक, टिपरलगायत हेभी गाडीले पनि तलकै बाटो प्रयोग गर्छन् । केहीबाहेक अधिकांश निजी र सरकारी गाडी पनि तलबाटै गुड्छन् । तलको सडकमा टाढाटाढासम्म सवारी जाम हुँदा फ्लाइओभर भने सँधै खाली हुन्छ ।

अज्कल्टो फ्लाइओभर 

फ्लाइओभर बालकुमारीतर्फ २८० र सातदोबाटोतर्फ १७५ मीटर फैलिएको छ । फ्लाइओभरमा बसस्टप छैन । ग्वार्को ओर्लिनुपर्नेहरु खरिबोट झरेर हिँड्नुपर्छ । यता, सातदोबाटोतर्फबाट आउँदा ग्वार्को झर्नुपर्नेहरु बिएण्डबी अस्पतालमै ओर्लिनुपर्छ । यात्रुहरु चढाउन र ओराल्न समस्या भएकाले सार्वजनिक यातायातहरु तल्तिरैबाटै गुड्छन् । 

ग्वार्को झर्नुपर्ने यात्रुका कारण अन्य यात्रुले समेत समस्या खेपिरहेका छन् । उनीहरुलाई घण्टौं जाममा बस्नुपर्ने बाध्यता छ । सानेपा जागिर भएकी भक्तपुरकी सलिना देउला जे–जे बनाएपनि जाम कहिल्यै नहट्ने बताउँछिन् । ‘यहाँको समस्या समाधान होला भनेर त्यत्रो वर्ष दुःख सह्यौं । दिनकै घण्टौं जाममा बसेर काममा गयौं । फ्लाइओभर बनेपछि जाम हट्ला भनेको त, अहिलेपनि अवस्था उस्तै छ । कुनै गाडी फ्लाइओभरबाट गुड्दै गुड्दैनन्’,उनले गुनासो पोखिन् । 

सार्वजनिक यातायातमै बौद्धबाट सातदोबाटो काममा आउने मनोज कार्कीको गुनासो पनि सलिनाको जस्तै थियो । भन्छन्,‘माथिबाट लगिदिएपनि अलि छिटो हुन्थ्यो नि । कति जाममा बस्नु ? त्यतिका वर्ष जाममा बस्यो, अहिलेपनि जाममै बस्नुपरिरहेको छ । माथिबाट गाडी नै नगुड्ने भए, यत्रो खर्च गर्नुको के अर्थ ?’

भक्तपुरको च्यामासिंहबाट कलंकीको गाडी चलाउने एक चालक सार्वजनिक यातायात फ्लाइओभरबाट चलाउन सम्भव नभएको बताउँछन् । बस स्टप नभएकाले तलबाटै चलाउनुपर्ने बाध्यता भएको उनको भनाइ छ । ‘जाममा बस्ने रहर हाम्रो पनि होइन । छिटो जान पाए, एउटा भएपनि बढी टिप गर्न सकिन्थ्यो । माथि बस स्टप छैन । यात्रु कहाँ झार्ने ? अलि पर पुर्याइदियो भने गाली खाइन्छ । कुनै यात्रु फ्लाइओभरबाट लगेन भनेर कराउँछन्, कुनै तलबाट । हामीले के गर्ने, सबैको आ–आफ्नो समस्या छ’,ती चालकले भने । 

ती चालकले निजी गाडीलाई चाँहि माथिबाट पठाउनुपर्ने बताए । निजी गाडी तलबाट गुड्दा जाम धेरै भएको उनको जिकिर छ । अगाडि थप्छन्,‘सार्वजनिक यातायात माथिबाट जान सम्भव छैन । तर, निजी सवारी साधन फ्लाइओभरबाट जानुपर्ने व्यवस्था गर्न सकिएमा धेरै जाम कम हुन्छ ।’

जनचेतना जगाउन आवश्यक 

सडक विभागअन्तर्गत गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका निर्देशक सुपरिटेण्डेण्ट इञ्जिनियर दीप बाराहीले सार्वजनिक यातायातलाई यात्रु पिकअप र ड्रप गर्नुपर्ने भएकाले माथिबाट जान समस्या भएको बताए । 

जनआस्थासँग उनले भने,‘बसलाई यात्रु ओराल्ने र चढाउने गर्नुपर्छ । त्यहीँ भएर बसचाँहि तलबाट जाने गरेको हो । अन्य गाडी माथिबाट जानुपर्ने हो । हामीले फ्लाइओभरबाट मान्छे हिँड्न निषेध गरेका छौं तर गाडीको हकमा खुल्ला छ । जुनसुकै गाडी पनि माथिबाट जान पाउँछ ।’ 

फ्लाइओभरको प्रयोगका लागि सरकारी निकायबाट चेतना फैलाउनुपर्ने निर्देशक बाराहीको भनाइ छ ।
 

टिप्पणीहरू