रणनीतिमा बलियो एमाले, भोटमा बलिया अरू
‘उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङले एमालेले ७० र कांग्रेसले ७० सिटमा मिलेर लड्ने सूचना त चुहाए तर स्थिति यस्तो छैन । आफू मात्रै लड्छन् कि अर्कोलाई भोट पनि हाल्छन् भन्ने प्रष्ट छैन,’ कांग्रेसनिकट स्रोतले भन्यो, ‘शेरबहादुरले जे सोचे पनि कांग्रेसको मनोवृत्ति एमालेसँग मिल्नु हुँदैन भन्ने छ ।’
अघिल्लो निर्वाचनताका मधेसमा कांग्रेस र एमाले बलिया देखिएका थिए । एमाले प्रतिनिधिसभा र प्रदेशसभा दुवैतिर पहिलो दल पनि बन्यो । तर, यसपटक स्थिति त्यस्तो नभएको स्रोत बताउँछ ।
मधेसमा बलियो पार्टी भनेको कांग्रेस नै हो । सङ्घीयता आइसकेपछि मधेसी जनअधिकार फोरमले कांग्रेसलाई नोक्सान गरायो । अधिकांश जिल्लामा नेपाली कांग्रेसबाट जित्नेगरेकाहरू अन्यत्र लागे,’ स्रोत भन्छ, ‘सर्वकालीन विजेताहरू विजय गच्छदार, महन्थ ठाकुर, शरतसिंह भण्डारी, जेपी गुप्ताहरू थिए । तर यी नेता लाखापाखा लाग्दा कांग्रेसलाई नोक्सान र एमालेलाई फाइदा भएको हो । अर्कोतिर कांग्रेस कमजोर भएपछि एमाले हरेक निर्वाचनमा गठबन्धन गर्दै आयो र बलियो बन्यो ।’
२०७९ मा पनि एमालेले उपेन्द्र यादवसँग गठबन्धन गर्दा कांग्रेस एक्लियो । बरु महन्थ ठाकुरजस्ता नेताले जितुन् भनेर छोडिदियो । माओवादीहरूलाई समेत तालमेलका नाममा केही सिट दिएपछि कांग्रेस आफैँं कमजोर भएको स्रोत बताउँछ । ‘एमालेले राष्ट्रिय सभामा उपेन्द्र यादवको मान्छेलाई जितायो ।
अनि प्रदेश र प्रतिनिधिसभामा उपेन्द्रलाई लाभ भयो, एमालेले पनि फाइदा उठायो । मधेसमा सबैभन्दा बढी टार्गेटेड भएपछि उसले क्षेत्रीय शक्तिसँग तालमेलको नीति लियो’ स्रोतले भन्यो । ०७९ मा ठूलो दल भएपछि एमालेले प्रदेशसभाको राजनीति पनि कब्जा गर्न खोज्यो । सभामुख, गभर्नर सबै उसैको थियो । तर आफ्नै कारणले खुस्किन पुग्यो ।
अघिल्लो स्थानीय निर्वाचनमा भने एमाले तेस्रो पोजिसनमा आएको थियो । ओलीले उपेन्द्रसँग मिल्दा उनीहरूलाई नै कमजोर बनाएको स्रोत बताउँछ । ‘ओली अघिल्लोपटक उपेन्द्र यादवसँगै तालमेल गर्न तयार भए र बढी लाभ लिए । ओलीको त्यो रणनीति यसपटक उपेन्द्र र अरु पार्टीले नजिकबाट बुझेका छन्,’ स्रोतले भन्यो, ‘अघिल्लोपटक विभाजित हुँदा मधेसका दलहरू कमजोर भए । तर यसपटक एकीकरण र मोर्चाबन्दी भइरहेको छ । यस्तोमा मधेसी दलमा एकता, कांग्रेस र एमाले एक्लाएक्लै भए भने स्थिति फरक हुन सक्छ । माओवादी र माधव नेपालको खास प्रभाव मधेसमा छैन ।’
पछिल्लो चुनावमा शहरी मतदातालाई प्रभाव पारेको रास्वपा मधेसमा अपेक्षित बलियो नभएको एक पर्यवेक्षक बताउँछन् । काठमाडौं र शहरी मतदातामा जस्तो प्रभाव वीरगञ्ज, जनकपुरजस्ता शहरमा छैन । तर, समानुपातिकतर्फ भने फाइदा उठाउन सक्छ ।
कांग्रेसले कमजोर स्थितिमा सुधार गर्यो भने परिणाम अर्कै भइदिन्छ ।’ आन्तरिक एकता मात्रै भयो भने पर्साको चारवटै क्षेत्रमा सबैभन्दा बलियो पार्टी कांग्रेस नै हुने बताइन्छ । कांग्रेस बलियो हुँदा जसपाका प्रदीप यादवलाई नै चुनाव जित्न कठिन हुने विभिन्न खाले नेता बताउँछन् ।
(जनआस्था साप्ताहिकको पुस २३ गते बुधबारको अंकमा प्रकाशित)
टिप्पणीहरू