सुजातालाई पैसा भए पुग्ने

सुजातालाई पैसा भए पुग्ने

नेपाली काँग्रेसका पूर्व सभापति,पूर्व प्रधानमन्त्री तथा पूर्व संक्रमणकालीन समयताकाका राष्ट्राध्यक्ष गिरिजाप्रसाद कोइरालाकी एक मात्र सन्तान एवम् काँग्रेस नेतृ सुजाता कोइरालाको नगदनारायण मोहले आफ्नै पिताजीको इज्जत र काँग्रेसको प्रतिष्ठामा समेत धक्का लगाउने काम भएको छ । झण्डै तीन दशकअघि जर्मनीबाट नेपालको राजनीतिमा हम्फाल्दा सुजाता जति विवादमा आएकी थिइन् त्यसपछि त्यो विवाद र आलोचना बरु बढेको छ, कहिल्यै घटेको छैन ।

समाज सेवा गर्ने नाममा खोलिएको गिरिजाप्रसादका नामको जीपी फाउण्डेशनलाई सुजाताले अहिले कमाइ खाने भाँडो बनाउँदा नेपाली काँग्रेसले लिँदै आएको एक चीन नीतिमाथि नै प्रश्नचिन्ह उठ्न थालेको छ । संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा प्रवासी तिब्बती समुदायले मंसिर २७ गते दलाई लामाले नोबेल शान्ति पुरस्कार पाएको ३१ औं वर्षगाँठको अवसरमा आयोजना गरेको कार्यक्रममा उक्त फाउण्डेशनले सहभागिता जनाएपछि नेपाली काँग्रेसलाई समेत अप्ठेरो पर्ने काँग्रेसी नेताहरू बताउँछन् ।

कार्यक्रममा फाउण्डेशनको अमेरिकास्थित कार्यालयका प्रेसिडेण्ट सोमनाथ घिमिरे सहभागी भएका थिए । प्रवासी तिब्बती समुदायले छुट्टै राष्ट्रिय गान गाएर शुरु गरेको कार्यक्रममा सहभागी घिमिरेले निम्तो दिएर कार्यक्रममा सहभागी हुने अवसर जुराइदिएकोमा समुदायका प्रमुख ल्ह्वाङ्ग ङोडुप र मेनेजर तेन्जिङ छेयाङ्गलाई सामाजिक सञ्जालमार्फत् आभार व्यक्त गरेका छन् ।

नेपाली काँग्रेस उच्च स्रोतका अनुसार कोइरालाले ‘फण्ड रेजिङ्ग’ अर्थात् अर्थ संकलनको नाममा घिमिरेलाई सहभागी गराएको हुनुपर्छ । सुजाता र फाउण्डेशनका पछिल्ला गतिविधिलाई पछ्याउँदा र विश्लेषण गर्दा सबै खालका गतिबिधि ‘फण्ड रेजिङ्ग’ सँग जोडिँदै गएको देखिन्छ । नेपाली काँग्रेसका एकजना नेता तथा पूर्व मन्त्री भन्छन् ‘सुजातालाई पैसा भए पुग्छ, उनलाई कुनै विचार, वाद वा नियम र कानुनको केही मतलब र पर्वाह नै छैन ।’

स्रोतका अनुसार यसअघि चीनमा आयोजित एउटा उच्चस्तरको कार्यक्रममा नेपाली काँग्रेसलाई समेत निम्तो दिइएको थियो । बेइजिङ्गमा आयोजित कार्यक्रमलाई चिनियाँ राष्ट्राध्यक्ष सी जिनपिङ्गले समेत सम्बोधन गर्ने कार्यक्रम थियो । नेपाली काँग्रेसलाई काठमाडौंस्थित दूतावासमार्फत् बकायदा उक्त उच्चस्तरको कार्यक्रमको औपचारिक निम्तो आएको थियो । कार्यक्रमको मिति नजिकैँदै आउँदा पनि काँग्रेसले विशेषगरी सुजाताले कुनै खबर नगरेपछि दूतावासले सम्पर्क गर्नैलाग्दा लक्ष्मण थपलियामार्फत् कोइरालाले दूतावासका पोलिटिकल अफिसरलाई आफू चीन नजाने बताउन लगाएकी थिइन् ।

त्यहिँदेखि नै सुजाताको चीनप्रतिको फरक धारणा र प्रवासी तिब्बतीहरूसँगको उठबसलाई अरुले जस्तै काँग्रेसभित्रैकाले पनि आशंका गर्न थालेका हुन् । आफ्नै पिताको नाममा रहेको फाउण्डेशन खत्तम गर्नेसँगै जीपीको नाम र मर्यादासमेत डलरको लोभमा धुलिसात् गर्ने अभियानबमोजिम घिमिरेलाई दलाई लामासँग जोडिएको कार्यक्रममा प्रतिनिधित्व गराउन लगाएकी हुन् ।

आफैं परराष्ट्र मन्त्रीसमेत रहिसकेकी कोइरालाको पछिल्लो गतिबिधिले राज्यले अंगालेको असंलग्न आन्दोलनलाई पनि गोलीमार गरेको छ । चीनसँगको सम्बन्धमा सबैभन्दा संवेदनशील मानिएको एक चीन नीतिको बिरुद्धमा गएर पैसाको लागि प्रवासी तिब्बती समुदायसँग गरेको साँठगाँठलाई चीनले पनि नजिकबाट नियालेको बताइन्छ ।

केही समय अघिसम्म सुजाता काँग्रेसको विदेश विभाग प्रमुख थिइन् । शेरबहादुर देउवा सभापतिमा निर्वाचित लगत्तै कोइराला विदेश विभागबाट स्वतः हटेकी हुन् । काँग्रेसले देउवाको चालु कार्यकालमा विदेश नीति केन्द्रीय कार्यालयमार्फत् सोझै हेर्ने गरेको बताइन्छ ।

टिप्पणीहरू