यो धर्ममा जनजातिको ठाउँ कहाँ छ ?
त्रिलोचन ढकाल
पहेँलो रुमाल काँधमा भएका र लामो टुप्पी पालेका पण्डित नारायण दत्त भुटभुटाउँदै मन्दिरबाट निस्के)
‘ॐ नमः शिवाय ! ॐ नमः शिवाय ! ॐ नमः शिवाय ! नेपाललाई हिन्दू राष्ट्र बनाइदेऊ प्रभु !!!‘
बाहिर निस्कँदा बित्तिकै रमिला विश्वकर्मा मन्दिरको प्रांगणमा देखिइन् । उनलाई नारनदत्तले भने–
‘अछुतलाई भित्र पस्न मनाही छ ।‘
‘गुरुजी ! तपाईंले शिवजीको मूर्तिलाई नेपाल हिन्दू राष्ट्र बनाइदिन भन्नुभयो ?‘
‘अँ भनँे ।‘
‘नेपाल हिन्दू राष्ट्र किन भएन गुरुजी ?‘
‘सबै खाए क्रिश्चियनले । नेताहरू पनि सबै होलिवाइन खाने भए ।‘
‘अर्कालाई दोष दिएर मात्र हुन्न गुरुजी । अस्तित्वको मुख्य आधार आफूभित्र हुन्छ । बाहिरको त सहायक मात्र हो ।‘
‘कुरो बुझिएन नि नानी !‘
‘आफूभित्र हेर्नुस् त ! संसारमा हिन्दूहरूको संख्या १५ प्रतिशत छ । त्यसमा पनि भारत र नेपालमा मात्रै तीन चौथाइ जति छ । यत्तिमा मात्र जातपात र छुवाछुत छ । संसारका अरू भागका हिन्दू र अरू कुनै धर्ममा पनि जातपात र छुवाछुत छैन । तपाईंले त मलाई पनि अछुत भनेर मन्दिरभित्र पस्न मनाही गर्नु भयो । नारीहरूलाई कन्यादानको नाममा दान गर्ने वस्तु बनाउनुभएको छ । परिणामतः लोग्नेका नोकर्नी भएर जिन्दगी बिताउनुपरेको छ । अनि तपाईंको धर्ममा जनजातिको स्थान कहाँ छ ?’
‘हाम्रो शास्त्रमा यस्तै लेखेको छ मैयाँ । मैले जानेको यही हो ।‘
‘वर्तमान नेपालको संविधान र कानुनले छुवाछुतप्रथा अन्त्य गरेको छ । पुरुष–महिलाको बीचमा समानताको घोषणा गरेको छ । जनजातिलाई पनि अरूसरह सम्मान गरेको छ । तर, तपाईंले आफ्ना धर्मशास्त्रको कुरा गर्नुहुन्छ र संविधान, कानुन लागू गर्न अवरोध खडा गर्नुहुन्छ । जनताको यति ठूलो शक्ति तपाईंको धर्मशास्त्रभन्दा बाहिर भएपछि नेपाल हिन्दू राष्ट्र कसरी हुन सक्छ ?‘
‘परम्परादेखि चल्दै आएका हाम्रा धर्मशास्त्रको टिप्पणी गर्ने अधिकार कसैलाई छैन ।’
‘जनसंख्याको १५ प्रतिशत दलित, आधाभन्दा बढी महिला र ४० प्रतिशतभन्दा बढी जनजातिलाई हिन्दू धर्मशास्त्रभित्र तपाईंहरूसरह सम्मानित स्थानको व्यवस्था गर्नुस् त । नेपाल हिन्दूराष्ट्र भइहाल्छ ।‘
आनन्दआश्रम, फापरथुम, स्याङ्जा
टिप्पणीहरू