बादल कमरेड मादलमा परिणत

बादल कमरेड मादलमा परिणत

युवा संघभित्र महेश बस्नेतको वर्चश्वले नेकपा ओली समूहमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ को गुट नै बिलाएको अर्थ लगाउन थालिएको छ । बादलको इच्छाविपरीत बिरु तामाङले अरुसँग गोप्य सल्लाह गरेर आफूचाहिँ प्रचण्डतिर जानलाई बार्गेनिङ गरिरहेको आरोप लगाउनेहरू पनि प्रशस्तै भेटिएका छन् । बादलले ओली समूहमा कुनै पनि खालको गुट नबनाउने वचन दिएपछि त्यता लागेका युवाहरूको समूह छिन्नभिन्न अवस्थामा पुगेको बताइन्छ ।

गृहमन्त्रीले पहिले नै संघका अधिकांशलाई मिडियामा नजानू है भनेको र बिरुले आफूहरूलाई अनेक भुलभुलैयामा पारेको ओली खेमाको संघको हालैको भेला बहिष्कार गर्नेहरूले बताएका छन् । उनीहरूले बिरुले प्रचण्ड समूहतिर जाँदा युवा इञ्चार्जको जिम्मेवारी पाउने र अहिलेका दीपशिखाले छाड्ने भन्ने सहमति नै भएको बताएका छन् ।

तर, बिरुभन्दा पनि उनीहरूको बिलखबन्द चाहिँ बादलले गुट बनाउँदिन भनेर प्रधानमन्त्री केपी ओलीसँग सम्झौता गरेपछि भएको बताइन्छ । लिखित सम्झौता नै गरेपछि बालुवाटारको कुनै पनि जनवर्गीय संगठनमा गुटको सम्भावना रहने अवस्था नदेखिएर पूर्वमाओवादी युवाहरू धर्मसंकटमा परेका हुन् ।

सोझै नभन ेपनि घुमाउरो भाषामा बादल निकटहरूले समेत अब पार्टी र युवा संघमा गुट सकिएको बताउन थालेका छन् । उनले अहिले विगतमाझैँ युवाहरूलाई समेत भेट्न छाडेका छन् । युवाहरूको समस्या समाधान गर्ने जिम्मा अहिले नयाँ खानेपानी मन्त्री मणि थापाको टाउकोमा हालिएको छ ।

यसबीच अलमलमा रहेका पुष्पराज श्रेष्ठलगायत पूर्वमाओवादी युवाहरूलाई महेश बस्नेतले वचनसिंहको कमिटीमा समेटिदिएका छन् । बस्नेतले पाँच जनालाई सचिवदेखि उपाध्यक्षसम्मको जिम्मेवारी दिएका हुन् । यसरी समेटिएकामा श्रेष्ठसहित कुमार हुमागाईं, योगेन्द्र सावद, योगेन्द्र लामा, उज्ज्वल घिमिरे मुख्य रहेको बताइन्छ ।

माओवादी समूहका अन्य साथीलाई छाडेर बस्नेततिर जानुको कारण बिरुले आफूभन्दा मुनिकालार्ई भुलभुलैयामा पारेर आफ्नो लाइन खुमलटारतिर सोझ्याएको आरोप ती पाँच जनाले लगाएका छन् । युवाको जिम्मेवारी लिएका गृहमन्त्री बादलले चुइँक्क नबोल्ने तर बादलका छोरा र बिरुको आर्थिक कारोबार झाँगिंदै गएपछि सबैजना तैं चुप मै चुपमा बसेका हुन् । त्यही कारण अहिले ओली समूहतिर लागेका पूर्वमाओवादी युवाहरू घरको न घाटको अवस्थामा पुगेको उनीहरूको निश्कर्ष छ ।

टिप्पणीहरू