साइबर सुरक्षातिर मोडियो सेना

साइबर सुरक्षातिर मोडियो सेना

नेपालमा साइबर सुरक्षाको चुनौति बढिरहेका बेला नेपाली सेनाले ‘साइबर सुरक्षा गोष्ठी’ गरेको छ । सेनाले सम्भावित साइबर हमलाको जोखिमलाई ध्यान दिँदै गोष्ठी आयोजना गरिएको जनाएको छ ।

विश्वमा भइरहेको सूचना प्रविधिको विकाससंगै यसको प्रयोगमा हुनसक्ने साइबर हमला तथा खतराहरुलाई मध्यनजर गर्दै सेनाको साइबर सुरक्षा शाखाको संयोजकत्वमा गोष्ठी सम्पन्न भएको सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । गोष्ठी चैत १२ र १३ गते त्रिभुवन आर्मी अफिसर्स क्लबमा भएको थियो ।

गोष्ठीमा राष्ट्रिय साइबर सुरक्षा नीतिको आवश्यकता,निर्माण र प्रभावकारिताका बारेमा छलफल भएको थियो । त्यस्तै,राष्ट्रिय साइबर प्रतिरक्षा प्रणाली,राष्ट्रिय साइबर सुरक्षा अपरेशन केन्द्रको आवश्यकता,निर्माण र बनावट तथा राष्ट्रिय साइबर सूचना आदन-प्रदान संयन्त्रलगायतका एजेण्डाहरुमा छलफल भएको निर्देशनालयले जानकारी दिएको छ ।

गोष्ठीको समापन कार्यक्रममा रक्षा मन्त्रालय,अर्थ मन्त्रालय,सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना विभाग,नेपाल दूरसंचार प्राधिकरण,नेपाल टेलिकम,नेपाल प्रहरी,सशस्त्र प्रहरी बल,राष्ट्रिय अनुसन्धान विभागको सहभागिता रहेको थियो ।

त्यस्तै,गैरसरकारी निकायहरुको तर्फबाट इन्टरनेट सेवा प्रदायक संघ (इस्पान) नेपाल बैंक असोशिएसन,कम्प्युटर असोशिएसन नेपाल,एनसेल, साइबर सुरक्षा तथा अध्ययन केन्द्रलगायत संस्थाका प्रतिनिधिहरुले सहभागिता जनाएको निर्देशनालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

सेनाले गोष्ठीबाट गहन निष्कर्ष निस्केको भन्दै सरोकारवाला र विज्ञहरुका राय,सुझावहरु राष्ट्रिय साइबर सुरक्षा तथा प्रतिरक्षा प्रणालीको विकासमा महत्वपूर्ण साबित हुने विश्वास लिएको छ ।

टिप्पणीहरू