राष्ट्र बैंकमा कर्मचारीका नयाँ नेता, महाधिवेशनअघि ज्वाईंको चलखेल
नेपाल राष्ट्र बैंक कर्मचारी संघले नयाँ नेतृत्व चयन गरेको छ । एमाले निकट संघको महाधिवेशनमा पार्टीभित्रको मतान्तरभन्दा कर्मचारीको आफ्नै स्वार्थले काम गरेको पाइएको छ ।
पुराना कर्मचारीलाई ३० वर्षे सेवा अवधिको कारण सेवानिवृत्त गराएपछि भएको मैदान खालीमा आफू अनुकूलको नेतृत्व ल्याउन पूर्वगभर्नर तथा हाल अमेरिकाका लागि राजदूत युवराज खतिवडाका छोरी ज्वाईंले मरिमेटेको बताइन्छ ।
ज्वाईं रामशरण खरेल बैंकमा निर्देशक छन् । तीन साताअघि भएको विभागीय प्रमुखहरुको सरुवामा खरेलले डा. प्रकाशकुमार श्रेष्ठलाई अर्थ मन्त्रालयमा काजमा राखेर आर्थिक अनुसन्धान विभागको कायम मुकायम प्रमुख हुने अपेक्षा गरेका थिए । तर, गभर्नरले खरेलको चाहनामा तुषारापात गरिदिएपछि उनी हच्किन बाध्य भएका हुन् । लगत्तै भएको निर्देशकहरुको सरुवामा पनि गत वर्ष आफू र खतिवडाको जोडबलमा महत्वपूर्ण ठाउँमा मिलाएको सेटिङलाई गभर्नरले भत्काइदिएपछि उनी कर्मचारीको अवकास व्यवस्थालाई ६० वर्षको उमेर हदमा कायम राख्नैपर्ने योजनामा जोडले अघि सरेको बताइन्छ ।
त्यसनिम्ति संघमा आफू अनुकूलको नेतृत्व ल्याउन उनले हरसम्भव प्रयास गरेको पनि स्रोतको दाबी छ । पछिल्लो समय बैंक सेवामा प्रवेश गरेका नयाँ कर्मचारीले विद्यमान ३० वर्षे सेवा अवधि र ५८ वर्षको उमेरहदको अवकाश व्यवस्थामा परिवर्तन गर्न नहुने अडान लिएपछि खरेलले आफू अनुकूलको नेतृत्व खोजेका थिए ।
संघमा यसअघि रहेका कार्यवाहक अध्यक्ष,वरिष्ठ उपाध्यक्ष र महासचिवलाई आफ्नो ६० वर्षे उमेर हदको रोडम्यापमा हिँड्न उनले गरेको अनुरोध महाधिवेशनस्थल परेली पार्टी प्यालेस, पवित्र वर्कशपमा छताछुल्ल पारिएको एकजना प्रतिनिधिले बताएका छन् । निर्वाचित एकजना पदाधिकारीले भने ‘खरेललगायत ५८ र ६० वर्षको उमेरमा अवकाश हुनुपर्छ भन्नेहरुले उठाएको मान्छेलाई हरायौं ।’
आइतबार सम्पन्न आठौं महाधिवेशनले रुद्रप्रसाद तिम्सिनाको अध्यक्षतामा नयाँ कार्यसमिति छनौट गरेको हो । जसमा उपाध्यक्ष पदमराज जोशी र उमाकान्त थपलिया,महासचिव शंकरप्रसाद भट्टराई,सचिवमा गीता पोखरेल लम्साल र कृष्णप्रसाद खराल,कोषाध्यक्षमा डिल्लीराज आचार्य र सहकोषाध्यक्षमा शारदा लोहनी चुनिएका छन् ।
नयाँ कार्यसमितिमा सदस्यहरु क्रमशः रामहरि घिमिरे,निरज दाहाल,रमेश खतिवडा,श्री विमल केसी,तुलसीराम बानियाँ, मञ्जुकुमारी नेउपाने,स्मृति बराल, रोजी थापा मगर, प्रकाश श्रेष्ठ र भाष्करमान श्रेष्ठ छन् ।
टिप्पणीहरू