लुम्बिनीमा डढेलोले २ जनाको ज्यान लियो

लुम्बिनीमा डढेलोले २ जनाको ज्यान लियो

देशका विभिन्न भागमा लागेको आगलागीका कारण ठूलो धनजनको क्षति भएको तथ्यांक सार्वजनिक भइरहेका बेला लुम्बिनी प्रदेशमा डढेलोमा परि दुई जनाले ज्यान गुमाएका छन् ।

आगलागीमा परि पछिल्लो १० दिनमा मात्र लुम्बिनीमा दुई जनाले ज्यान गुमाएका हुन् । गुल्मीको धुर्काट गाउँपालिका–७ की संगिता परियार र पाल्पा माथागढी गाउँपालिकाका मान बहादुरले आगलागीमा परि ज्यान गुमाएको स्थानीय सरकारका प्रतिनिधिले जानकारी दिएका छन् ।

माथागढी गाउँपालिकाका प्रशासकिय अधिकृत राजु नेपालका अनुसार जङ्गलमा लागेको डढेलो निभाउने क्रममा फसेका मान बहादुरको जलेर मृत्यु भएको हो । सामुदायिक वनका पूर्वसचिवसमेत रहेका उनको चैत १४ गते डढेलो निभाउने क्रममा मृत्यु भएको थियो ।

त्यस्तै, डढेलोमा परि ज्यान गुमाउने संगीता चैत २० गते नुहाएर घर फर्किने क्रममा जङ्गलमा लागेको आगोमा परेको धुर्काट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत काशीराम पन्थीले जानकारी दिए ।

गर्मी बढेसँगै प्रदेशका महाभारत र चुरे पहाडमा डढेलोको प्रकोप बढेको छ । प्रदेश सरकारको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयले दिएको तथ्याङ्कअनुसार शुख्खा याम सुरु भएदेखि हालसम्म लुम्बिनी प्रदेशका वनमध्ये ३ सय ६८ स्थानका १८ हजार ५ सय ८६ हेक्टर क्षेत्रफलमा डढेलो लागेको छ ।

जसमध्ये बर्दिया राष्ट्रिय निकुञ्जसमेत गरेर प्रदेशमा अझै ५६ वटा डढेलो सक्रिय रहेको संघीय सरकारको वन तथा वातावरण मन्त्रालयले जानकारी दिएको छ । तथ्याङ्अनुसार सबैभन्दा धेरै डढेलो अर्घाखाँचीमा लागेको छ ।

जिल्लाको ६८ स्थानमा ९ हजार ७ सय १५ हेक्टर क्षेत्रफलमा डढेलो लागेको छ । त्यस्तै धेरै डढेलो लागेका जिल्लाहरूमा नवलपरासी, कपिलवस्तु र गुल्मी हुन् ।

टिप्पणीहरू