कतै कतै आत्मघाती गठबन्धन गरिएको पत्रकारहरूको निश्कर्ष

कतै कतै आत्मघाती गठबन्धन गरिएको पत्रकारहरूको निश्कर्ष

नेपाल पत्रकार महासंघको अस्ति सम्पन्न निर्वाचनमा ठाउँ हेरेर चुनावी तालमेल भएको देखियो । ठाउँ हेरेर घात अनि अन्तर्घात भयो र भोट क्रससमेत भएको पाइयो । अन्तमा परिणाम नसोचेको आउँदा कतिपय जिल्लामा गठबन्धनकारीहरूबीच नै कठालो समाउनेसम्मको हर्कत भयो । अहिले एकार्कामा अन्तर्घातको आरोप प्रत्यारोप चल्न थालेको छ ।

यसक्रममा कतै कतै ‘एलायन्सको नाममा धोका दिइस्,यसको हिसाब पछि गरौंला’ भन्दै तीतो पोख्न बाध्य भएको पनि देखियो । ती सबै कार्य अनपेक्षित परिणामको निश्कर्ष थियो । उक्त हर्कत र दृश्य अन्यत्रको होइन,काठमाडौंबाट नजिकैको काभ्रेपलाञ्चोकमा चुनाव सकिएकै राती देखिएको हो । काभ्रे पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटाको जिल्ला हो ।

त्यहाँ नेपाली काँग्रेसनिकट प्रेस युनियन र माओवादीनिकट प्रेस संगठनबीच एमालेनिकट प्रेस चौतारीविरुद्ध तालमेल भएको थियो । काभ्रेमा संगठन र भोटको हिसाबले प्रेस चौतारी एकदमै बलियो थिएन । तर, वामपन्थीहरूको वर्चश्व भने रहँदै आएको छ । युनियनले पनि आफूलाई सर्वेसर्वा ठान्दै आएको छ । बुधबारको मतदानमा भोट क्रस भएको कारण महासंघको काभ्रे शाखामा माओवादी संगठन लगभग सोत्तरको अवस्थामा पुगेको छ । काँग्रेसले भने अनपेक्षित रुपमा अध्यक्ष पद हत्याएको छ ।

“भोट गन्दागन्दै अन्तिम क्षणमा झण्डै कठालो समाउनेसम्मको अवस्था सिर्जना भएको थियो ।”

बुधबार राती मतगणना अन्तिम चरणमा पुगेको बेला गठबन्धन गरेकाहरूले मतगणनास्थलमै हात हाल्ने अवस्था सिर्जना भएको थियो । राती नै कतिपयले व्यंग्य मिश्रित भाषामा सामाजिक सञ्जालमा तीतो पोखेको समेत देखियो । माओवादीका तर्फबाट फेसबुकमा लेखिएको छ ‘पत्रकार महासंघ काभ्रेको निर्वाचनमा विजयी हुनुहुने सम्पूर्ण पदाधिकारी र सदस्यज्यूहरूमा हार्दिक बधाई साथै प्रेस युनियन काभ्रेले दिएको सहकार्यका लागि न्यानो सम्झना ।’

अघिल्लो निर्वाचनमा काभ्रेमा प्रेस चौतारी निकटको संख्या ४४ जना थियो । त्यतिबेला जिल्लाकै सबैभन्दा परिश्रमी तथा इमान्दार र सात्विक पत्रकार मोती तिमिल्सिनाले ८७ भोट ल्याएर बाजी मारेका थिए । अहिले त्यो परिणाम उल्टिएर काँग्रेसतिर गएको हो । यसपटक चौतारीको तर्फबाट नवराज बजगाईं उठेका थिए भने युनियनले बद्रि तिमिल्सिनालाई अध्यक्षमा जिताउन सफल भयो जबकि युनियनले माओवादीसँग घोषित तालमेल गरेको थियो ।

काभ्रेको पछिल्लो परिणामअनुसार अध्यक्षमा युनियनले जित हात पारेको छ । उपाध्यक्ष र कोषाध्यक्ष माओवादीलाई दिइएकोमा ती पदमा भने चौतारीका उम्मेदवारले बाजी मारेका छन् । चौतारीका उम्मेदवारले यसपटक ५३ मत ल्याएका छन् । प्रदेश पार्षद्तर्फ मोतीरामका कसैलाई नबिझाउने भाइ लक्ष्मणले ७५ मत ल्याएको समेत देखियो । काभ्रेमा युनियनको खास सदस्य संख्या ६५ रहेको बताइन्छ । तर,निर्वाचनमा उसले माओवादीबाट पनि खासै भोट पाएको देखिएन । काँग्रेसका बिजेताले बढीमा ६८ भोटसम्म ल्याएका छन् ।

काभ्रेमा चौतारीले उपाध्यक्ष, कोषाध्यक्ष र पाँच खुल्ला सदस्यमा जीत हात पारेको छ । माओवादीलाई छुट्याइएका यी सबैजसो पदमा चौतारीले बाजी मारेको हो । अध्यक्ष,महिला उपाध्यक्ष र सचिवसहित तीन पदाधिकारीमा काँग्रेस र तीन सिटमा एमालेनिकट चौतारीले जितेको छ । माओवादीले एउटा पद मात्रै जितेको छ । माओवादीको तर्फबाट सहसचिव रोशन तामाङ एक्लो बिजयी हुन् ।

त्यहि अनपेक्षित परिणाम आएपछि भोट गन्दागन्दै अन्तिम क्षणमा झण्डै कठालो समाउनेसम्मको अवस्था सिर्जना भएको थियो । काँग्रेसले यसपटक धोका दिएको निश्कर्षमा माओवादी पुगेको छ । उसले ईश्वरी ओझाले राम्रोसँग कमाण्ड गर्न नसकेको अर्थ लगाएको छ ।

यसपटक एक कित्ताका मतदातालाई भोला थापाको मीराबेल रिसोर्टमा जम्मा पारेर राखिएको थियो । २०५४ सालतिर सांसदहरूलाई एउटा होटलमा बन्धक बनाएर अविश्वास प्रस्तावमा भोट हाल्न लगाएझैँ यस पटक काभ्रेमा त्यस्तै गरिएको चर्चा चलेको छ ।

उता,माओवादी प्रेस संगठनका केन्द्रीय नेताहरूले यसपटक केही ठाउँमा आत्मघाती गठबन्धन गरिएको निश्कर्ष निकालेका छन् भने यस्तै गुनासो प्रेस चौतारीको बालुवाटारइतर खेमाको पनि माओवादी र काङ्ग्रेसका सन्दर्भमा सुनिन्छ ।

टिप्पणीहरू