बादललाई उस्तै, चन्द्रलाई मौका
हिजोको प्रतिनिधिसभा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले माओवादी केन्द्रले संसद सचिवालयलाई जानकारी गराएको दल त्यागसम्बन्धी सूचना पढेर सुनाएपछि पहिले माओवादी र अहिले एमालेको मन्त्री रहेका चार जनाको सांसद पद क्षणभरमा माटो बनेको छ भने माथिल्लो सभाका दुईमध्ये गृहमन्त्री रामबहादुर थापा बादलको पनि पद फ़ुस्किएको छ ।
हिजो सभामुखले बैठकमा माओवादीको पत्र पढेर सुनाएपछि सांंसद तथा मन्त्रीहरु लेखराज भट्ट,टोपबहादुर रायमाझी,प्रभु साह र गौरीशंकर चौधरीको माओवादी केन्द्रसँगको कानुनी आधार छिनेको हो ।
आज माओवादी केन्द्रका राष्ट्रियसभा दलका नेता दिनानाथ शर्माले बादलले दल त्याग गरेको पत्र संसद सचिवालयमा बुझाएपछि उनको पनि पद भुस भएको हो । माओवादी केन्द्रबाट राष्ट्रियसभा सदस्य बनेका र अहिले एमालेमा लागेका अर्का चन्द्रबहादुर खड्काको भने तत्कालका लागि पद जोगिएको छ ।
यद्यपि माओवादी केन्द्रले खड्कालाई कारबाहीका लागि २४ घण्टे स्पष्टीकरण सोधेको छ । खड्काले चित्तबुझ्दो जवाफ नदिए सम्भवत: भोलि या पर्सिमा उनले पनि पद गुमाउने निश्चित छ । खड्का पनि रायमाझी झैँ अर्घाखाँचीका हुन् । उनी हिजो सांसद पद गुमाएका ऊर्जामन्त्री रायमाझीनिकट मानिन्छन् ।
फागुन २८ गते प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले डाक्नुभएको भनिएको केन्द्रीय समितिको बैठकमा पार्टी प्रवेश गराइएका २३ जना माओवादी केन्द्रका नेतामध्ये खड्का पनि एक हुन् ।
टिप्पणीहरू