थप ४ जना माओवादी सांसदको पद खेर जाँदै
दलबदल गरेको आरोपमा नेकपा माओवादी केन्द्रले २ नम्बर प्रदेशका ४ जना सदस्यलाई स्पस्टिकरण बुझाउन २४ घण्टे पुर्जी काटेको छ ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हिजो सोध्नुभएको स्पस्टिकरण पत्रमा दुई जनालाई एमालेको केन्द्रीय सदस्य बनेको र अन्य दुई जनालाई एमालेमा प्रवेश गरेको बुझिन आएकाले यथार्थबारे २४ घण्टाभित्र स्पष्ट पार्न निर्देशन दिइएको हो ।
प्रदेश सांसद रामचन्द्र मण्डल र ज्वालाकुमारी साहलाई सोधिएको पत्रमा लेखिएको छ ‘तपाईंले नेकमा माओवादी केन्द्रको प्रदेश सभा सदस्यको प्रतिनिधित्व गर्नुपर्नेमा दल त्याग गरी अन्य दल नेकपा एमालेमा प्रवेश गरी केन्द्रीय कमिटीमा समेत रहेको भनी सार्वजनिक सञ्चार माध्यमहरूमा आएकोले माओवादी केन्द्र त्याग गरेको हो,होइन ? २४ घण्टाभित्र स्थिति स्पष्ट पार्न निर्देशन गरिन्छ ।’
त्यसैगरी सांसद मोहम्मद समीर र कुन्दनप्रसाद कुशवाहलाई लेखिएको पत्रमा पनि उस्तै व्यहोरा छ । उनीहरू केन्द्रीय सदस्य बनेको सन्दर्भ नभई एमाले प्रवेश गरेको विषय लेखिएको छ । पत्रमा भनिएको छ ‘तपाईंले नेकमा माओवादी केन्द्रको प्रदेश सभा सदस्यको प्रतिनिधित्व गर्नुपर्नेमा दल त्याग गरी अन्य दल नेकपा एमालेमा प्रवेश गरेको भनी सार्वजनिक सञ्चार माध्यमहरूमा आएकोले सो सम्बन्धमा २४ घण्टाभित्र स्थिति स्पष्ट पार्न निर्देशन गरिन्छ ।’
यसअघि संघीय सांसदहरूमध्ये प्रतिनिधिसभाका मन्त्रीहरू प्रभु साह,लेखराज भट्ट,टोपबहादुर रायमाझी र गौरीशंकर चौधरीलाई सोधिएको यस्तै पत्रको जवाफ प्राप्त नभएपछि माओवादीले संसद सचिवालयलाई लेखेको पत्रको आधारमा चारैजनाको सांसद पद सकिएको छ ।
यसबीच मन्त्रीको जिम्मेवारीसमेत खुस्किएका उनीहरूलाई प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि छ महिनाको लागि मन्त्रीको जिम्मेवारी दिने निर्णय गरेपछि शीतल निवासमा शपथ ग्रहण गराइएको छ ।
राष्ट्रिय सभाका सांसद तथा गृहमन्त्री बादल र अर्का सांसद चन्द्रबहादुर खड्काको हकमा पनि त्यहि प्रक्रिया अवलम्बन गरेका कारण थापाको दुबै पद र खड्काको सांसद पद जान लागेको हो ।
टिप्पणीहरू