पाटनमा एक्लो घोडा कुदाइयो
आजदेखि परम्परागत घोडेजात्रा शुरु भएको छ । उपत्यकाको प्रमुख जात्राका रुपमा लिइने घोडेजात्रा प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाउने गरिन्छ ।
काठमाडौँको टुँडिखेलमा नेपाली सेनाले घोडा कुदाएर जात्राको आयोजना गर्छ भने ललितपुरमा पनि यो जात्रा मनाउने गरिन्छ । ललितपुरमा भीमसेन गुठी च्योखल:ले घोडेजात्रा आयोजना गरेको छ । आइतबार दिउँसो पौने तीन बजे ललितपुर महानगरपालिका-१२ मंगलबजारस्थित भीमसेन मन्दिरबाट जात्रा शुरु भएको हो ।
जात्रा गुठीका अध्यक्ष शंकर महर्जनको नेतृत्वमा भएको आयोजकले जनाएको छ । गुठीका प्रमुख सल्लाहकार अर्जुन महर्जनलगायत सयौँ जनाको संख्यामा घोडेजात्रा शुरु भएको थियो ।
घोडेजात्रा मंगलबजारबाट शुरु भई पुल्चोक,ओल्खुचिबहाल,न्यौट, लोल,च्यासलचोक,भोल्ढोका हुँदै बालकुमारी गएर समापन हुने गुठीले जनाएको छ ।
घोडेजात्राका अवसरमा नेपाली सेनाले टुँडिखेलमा विशेष कार्यक्रम आयोजना गर्ने गरेको छ । गतवर्ष कोरोना महामारीका कारण स्थगित गरिएको घोडेजात्रा यसवर्ष सांकेतिक रुपमा मनाउने सेनाको तयारी छ ।
टिप्पणीहरू