डेढ महिना भइसक्यो अब प्रधानमन्त्रीलाई पर्खने कुरा हुँदैन : जसपा नेता मोहमद इस्तियाक राई
भावी सत्ता समीकरणलाई लिएर सत्तारुढ एमाले र काँग्रेस–माओवादीसँग समानान्तर छलफल चलाइरहेको जनता समाजवादी पार्टी (जसपा) निर्णायक छलफलमा जुटेको छ । नयाँ सरकार गठनको विषयमा दुवै पक्षसँग भएका कुराकानी र पार्टीको धारणा बनाउन जसपाका शीर्ष नेता आज छलफलमा जुटेका हुन् ।
नयाँ सरकार गठनलाई लिएर जसपामा दुई धार देखिएको छ । अहिलेकै सरकारलाई समर्थन गरेर जाने कि वैकल्पिक सरकार गठनका लागि नेपाली काँग्रेसले गरेको प्रस्तावका पक्षमा उभिने भन्नेमा एकमत हुन नसकेको अवस्थामा नेताहरूले निर्णायक छलफल थालेका हुन् । जसपाका नेता मोहमद इस्तियाक राईले दुबै पक्षसँग भएका कुराकानीबारे नेताहरूबीच आज अनौपचारिक छलफल भएको जानकारी दिए ।
‘आज अनौपचारिक छलफल भएको हो । केपी ओलीसँग भएको छलफल र काँग्रेसको प्रस्तावबारे छलफल भए पनि निर्णय केही भएको छैन । सायद काँग्रेससँग थप छलफल हुन्छ होला,’ उनले भने ।
काँग्रेस–माओवादीसँग सहकार्यको सम्भावना बढेको संकेत गर्दै राईले डेढ महिनासम्म पनि प्रधानमन्त्री ओलीले आफूहरूले उठाएका मुद्दाका विषयमा निर्णय नदिएको बताए । उनले भने, ‘हामीले पहिलेदेखि नै भनेको कुरा के हो भने हामी मुद्दाका आधारमा समर्थन गर्छौँ । प्रधानमन्त्रीसँगको हाम्रो छलफल त्यसैका लागि भएको हो । तर, डेढ महिना भइसक्यो उहाँ (ओली) ले केही गर्न सक्नुभएन । अब उहाँलाई पर्खने कुरा हुँदैन ।’
वैकल्पिक सरकार गठनका लागि काँग्रेसले औपचारिक प्रस्ताव गरेकाले छलफल त्यता केन्द्रित हुने उनको भनाइ छ । काँग्रेसको प्रस्तावलाई पार्टीले सकारात्मक रुपमा लिएको भन्दै उनले त्यहि दिशामा छलफल अघि बढेको बताए ।
भावी सत्ता समीकरणबारे चैत २७ गते काँग्रेस सभापति शेरबहादुर देउवाले माओवादी केन्द्र र जसपासंग छलफल गर्नुभएको थियो । उक्त छलफलमा सभापति देउवाले सरकार गठनका लागि सहयोग माग्नुभएको थियो । जसपाले पार्टीमा छलफल गरेर जवाफ दिने बताएको थियो । नेता राईले केही दिनमै जसपाले निर्णय गर्ने बताए । ‘काँग्रेसले औपचारिक प्रस्ताव गरेको छ । काँग्रेसको प्रस्तावलाई हामीले सकारात्मक रुपमा लिएका छौँ । छिट्टै निर्णय हुन्छ,’ उनले भने ।
जसपामा संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव वैकल्पिक सरकार गठनको पक्षमा खुलेरै लागेका छन् । अर्का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो भने अहिलेकै सरकारलाई समर्थन गरेर जान इच्छुक रहेको बताइन्छ ।
टिप्पणीहरू