बढ्यो कोरोना, तीन दिनमा १५ सय संक्रमित
पछिल्लो २४ घण्टामा थप ६ सय ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज देशभर उक्त संख्यामा संक्रमित फेला परेको जानकारी दिएको हो ।
मन्त्रालयका अनुसार गत २४ घण्टामा गरिएको पीसीआर र एन्टिजेन परीक्षणमा ६ सय ३ जनामा संक्रमण पुष्टि भएको हो । जसमध्ये ४ हजार २ सय ८९ नमूना पीसीआर परीक्षण गर्दा ५ सय ८० जना र ४ सय ५१ जनाको एन्टिजेन परीक्षण गर्दा २३ जनामा संक्रमण भेटिएको हो ।
आज भेटिएका संक्रमितमध्ये उपत्यकामा मात्र २ सय ५४ जना छन् । काठमाडौंमा १ सय ७३, ललितपुरमा ६१ र भक्तपुरमा २० जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । संक्रमितको संख्या बढ्दै गएका बेला आज १ सय २९ जना भने संक्रमणमुक्त भएका छन् ।
हाल देशभर चार हजार ५६ सक्रिय संक्रमित रहेका छन् । जसमध्ये तीन हजार ५ सय ९९ जना होम आइसोलेसनमा रहेका छन् । त्यस्तै, कोरोना संक्रमित भई ८० जना आईसीयू र २५ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।
आज थपिएकासँगै पछिल्लो तीन दिनमा १५ सय भन्दाबढीमा संक्रमण पाइएको छ । मन्त्रालयका अनुसार सोमबारदेखि बुधबारसम्म गरिएको १३ हजार ५३ वटा नमूना परीक्षणमा एक हजार ५ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो अवधिमा ४ सय २० जना भने संक्रमणमुक्त भएका छन् ।
टिप्पणीहरू