फौजमै अक्सिजनको हाहाकार, मेडिसिटी र नेपाल मेडिकल कलेजले पनि हात उठाए, बिरामी अन्यत्र लैजान सूचना जारी

फौजमै अक्सिजनको हाहाकार, मेडिसिटी र नेपाल मेडिकल कलेजले पनि हात उठाए, बिरामी अन्यत्र लैजान सूचना जारी

सशस्त्रको कोभिड डेडिकेटेड अस्पतालमा अक्सिजनको हाहाकार भएको छ । विज्ञप्ति ननिकाले पनि उसले जेनतेन पुर्याएको छ । तर सम्बन्धित कर्मचारीहरूले गाह्रो भएको बताइसकेका छन् ।

यता सर्वत्र बिरामीको थेगिनसक्नु भीड बढेको छ । संक्रमित र संक्रमितको मृत्युदर ह्वात्तै बढेको छ । अक्सिजन पाउन छाडिएको छ भने बेड नपाएर जताततै बिरामी लडेको दृश्य देख्न थालिएको छ ।

अन्तिम अवस्थामा प्रयोग गरिने रेम्डेसिभिर नपाएर हाहाकार मच्चिएको छ । अस्पतालले बिरामीको आफन्तलाई रेम्डेसिभिर खरिद गरेर ल्याउन आदेश दिन्छ तर बजारमा उपलब्ध छैन ।

सुरक्षा निकाय मातहतको एउटा अस्पतालका एकजना व्यवस्थापकले भने ‘जताततै भद्रगोल छ । स्वास्थ्यमा झन् भनिसाध्य छैन । एकद्वार नीति नभएकाले अहिले संकटमा झन् संकट थपिएको हो ।’

उता नेपाल मेडिकल कलेजले पनि अक्सिजनको अभावमा उपचार गर्न नसकिने जनाउँदै भर्ना भएका सबै कोरोना संक्रमित बिरामीलाई आफ्नो व्यवस्था गर्न भनेको छ । उसले बिरामी डिस्चार्ज गर्नेबारे सम्बन्धित निकायलाई जानकारी गराएको छ ।

त्यसैगरी ललितपुरको मेडिसिटी अस्पतालले पनि अक्सिजनको अभाव देखाउँदै कोभिडका बिरामी भर्ना लिन नसक्ने भनी हात उठाएको छ । उसले हाल उपचाररत बिरामीलाई पनि अक्सिजनको अभावमा थप उपचार गर्न नसकिने अवस्था आउन लागेको चेतावनी दिएको छ ।

टिप्पणीहरू