मध्य महामारीमा नर्सहरुको योगदान महान

मध्य महामारीमा नर्सहरुको योगदान महान

कोरोना महामारीबाट विश्व नै आक्रान्त छ । यस्तो बेला बिरामीलाई निको पार्न चिकित्सकझैँ नर्सहरु पनि आफ्नो ज्यानको माया मारेर,घरमा दूधे बच्चा छाडेर फ्रन्टलाइनमा खटिएका थुप्रै उदाहरण भेटिएका छन् ।

महामारीले विश्वभर नर्सहरूको महत्वसमेत अत्यधिक बढेर गएको छ । पीपीईभित्र गुम्सिएर पनि घण्टौँसम्म संक्रमितहरूको उपचारमा तल्लिन नर्सहरूले हप्तौंसम्म आफ्ना परिवारलाई समेत भेट्न पाएका छैनन् ।

कतिपय नर्स आफै संक्रमित भएर पीडामा छन् । पेशागत मर्म र मानवताको धर्मलाई कायम राख्दै संक्रमितहरुको उपचारमा तल्लिन नर्सहरुको दिवसमा समेत आज उनीहरु आफ्नो कर्म क्षेत्रमा खटिइरहेका छन् ।

सन् १८२० को मे १२ का दिन इटालीको फ्लोरेन्स शहरको आधुनिक चिकित्सा पध्दतिमा अभूतपूर्व योगदान गर्ने नर्स अर्थात् नेपालीमा स्वास्थ्य परिचारिका पेशाको शुरुआत गर्ने फ्लोरेन्स नाइटिङ्गेलको जन्म दिनका अवसरमा अन्तर्राष्ट्रिय नर्स दिवस मनाउने गरिएको छ ।

फ्लोरेन्सलाई ‘अ लेडी विथ ए ल्याम्प’ का नामले पनि विश्वभर चिनिन्छ । युरोपमा ‘क्रिमियन युद्ध’ चलिरहँदा घाइते सैनिकहरूको उपचारार्थ अहोरात्र खटिएका सैनिकहरूले उनलाई सम्मानका साथ ‘लेडी विथ अ ल्याम्प’ भनेका थिए ।

नेपालमा भने वि.सं २०१३ बाट नर्सिङ सेवा शुरु भएको हो । राणा शासनकालमा सम्भ्रान्त परिवारमा चलाइएको स्वास्थ्य–उपचार र नर्सिङ सेवाको महत्वलाई ध्यानमा राखेर नेपालमा नर्सिङ सेवाको शुरुवात भएको मान्यता रहिआएको छ ।

महामारीको समयमा अहोरात्र खटिनुभएका सम्पूर्ण नर्सहरुलाई अन्तर्राष्ट्रिय नर्स दिवसको शुभकामना ।

टिप्पणीहरू