बालुवाटार र शीतल निवास टेकेर महन्थ-राजेन्द्र उपेन्द्रसँग लड्न बालकुमारी
राष्ट्रपति विद्यादेवी भण्डारीले गठबन्धन सरकार बनाउन दलहरुलाई दिनुभएको समयसीमा भोलि राती ९ बजेसम्म भएकाले एमाले बाहेकका दलहरु यतिखेर जोड घटाउमा व्यस्त देखिएका छन् । गठबन्धन सरकारको निम्ति निर्णायक शक्ति बनेको जसपा पनि छलफलमा सबैभन्दा बढी व्यस्त छ ।
यहि क्रममा आज दिउँसो साढे एक बजेपछि जसपाको केन्द्रीय कार्यालय,बालकुमारीमा नेताहरुबीच भेटघाट र छलफल शुरु भएको छ । छलफलमा समसामयिक राजनीतिक घटना, जसपाको आन्तरिक निर्णय एजेण्डा रहेको बताइएको छ ।
छलफलमा जसपा अध्यक्ष उपेन्द्र यादव,संघीय अध्यक्ष बाबुराम भट्टराई ,केन्द्रीय कार्यकारिणी सदस्यहरु राजेन्द्र श्रेष्ठ,वरिष्ठ नेता अशोक राईलगायत झण्डै एक दर्जन नेताहरुको सहभागिता छ ।
त्यसअघि महतो र ठाकुरले बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेको बताइन्छ ।
भेटमा दुबैजनाले प्रधानमन्त्री ओलीलाई आश्वस्त तुल्याउँदै कुनै पीर नलिन भनेको स्रोतको दाबी छ । स्रोत भन्छ ‘प्रधानमन्त्रीलाई भेटेपछि उहाँहरुले उपेन्द्रको पत्रको पछि नलाग्न शीतल निवासमा लगेर अर्को पत्र बुझाउनुभएको छ ।’
त्यसपछि दुबै जना यादव र डा. भट्टराईसँग राजनीतिक प्रतिवाद गर्न पार्टी कार्यालय बालकुमारी पुगेको बताइन्छ ।
टिप्पणीहरू