एमाले माननीयहरुलाई राजीनामा नदिन वकिलहरुको सुझाव
माधव नेपाल पक्षधर सांसदहरुलाई राजीनामा नदिन र मिलेर जान कानुनविद्हरुले परामर्श दिएका छन् ।
बिहान ११ बजे माधव नेपालको निजी निवास कोटेश्वर पुगी १ बजे त्यहाँबाट निस्किएका कानुनविद् गोविन्द शर्मा बन्दी र टीकाराम भट्टराईहरुले पूर्व प्रधानमन्त्री माधवकुमार नेपाललाई यस्तो सुझाव दिएका हुन् ।
त्यही बीचमा उनीहरुले बरिष्ठ कानुनविद् शम्भु थापालाई टेलिफोनबाटै माधव नेपालसँग कुरा गराएका थिए ।
भेटमा सहभागी अधिवक्ता गोविन्द शर्मा बन्दीका अनुसार उनीहरुले कुनै पनि हालतमा राजीनामा नदिन सुझाएका हुन् ।
उनीहरु अबको सरकार गठनको प्रक्रिया र कानुनी व्यवस्थाबारे सुझाव दिएर फर्किएका छन् । अहिलेकै अवस्थामा राजीनामा दिएर राजनीतिक परिणाम पनि नआउने र राजनीति गर्न कुनै ठाउँ बाँकी नरहने भएका कारण राजीनामा दिनुहुन्न भन्ने अधिवक्ताहरुको सुझाव रहेको बरिष्ठ अधिवक्ता बन्दीले जनआस्थालाई बताए ।
जसपा आफैं विभक्त भएको अबस्थामा ओलीलाई अहिले विश्वासको मत नपुग्ने,बहुमतको सरकार नबन्ने हुँदा ती कानुनविद्हरुले संविधानको धारा ७६ को ३ देखि ५ सम्मको व्याख्या गरेका थिए । ७६ (३) अनुसार अल्पमतको सरकार बन्छ, त्यसपछाडि फेरि ७६ (५) मा जाने अवस्था आउने हुँदा सो समयमा पनि राजीनामा दिने वा केपी ओलीलाई समर्थन गर्ने भन्ने विकल्प बाँकी नै रहने हुँदा ठाउँ भएसम्म अहिले नै राजीनामा गर्नु उचित नहुने तीनै जना अधिवक्ताको सुझाव छ ।
अधिवक्ताहरुसँग भेटवार्ता चल्दै गर्दा माधव नेपाललाई प्रधानमन्त्री केपी शर्मा ओलीले टेलिफोन सम्पर्क गरी भेट्न आग्रह गरेपछि अहिले बूढानिलकण्ठस्थित अन्नपूर्ण पोष्टका साहुजी रामेश्वर थापाको निवासमा वार्ता चल्दैछ
टिप्पणीहरू