अस्पतालका साहुजीहरु भन्छन्-तत्काल अक्सिजन प्लान्ट जोड्न सक्दैनौँ
पन्ध्र दिनभित्र अक्सिजन प्लान्ट जडान गर्न सरकारद्वारा दिइएको निर्देशनप्रति एशोसियसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपाल (अफिन) ले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कम्तीमा १ सय बेड सञ्चालन गरेका निजी अस्पताललाई १५ दिनभित्र आफ्नै अक्सिजन प्लान्ट जडान गर्न हिजो निर्देशन दिएको थियो ।
अन्तर्राष्ट्रिय हवाईसेवा पनि बन्द रहेको बेला द्रूत ढुवानीको विकल्प नभएको,अक्सिजन प्लान्ट भनेको बजारबाट टप्प टिपेर जडान गर्ने उपकरण नभएको हुनाले विश्वको कुनै पनि उद्योगले खरिद सम्झौतापछि ३ महिना नहुँदै प्लान्ट तयार गरिदिने अवस्था नरहेको जनाउँदै प्लान्ट भित्रिए पछि जड़ान गर्न कम्तीमा १५ दिन लाग्ने बताइएको छ ।
बढ्दो कोरोना महामारीका कारण देशभर नै अक्सिजनको अभाव भएकोमा आफूहरु जानकार रहेको बताउँदै असहज अवस्थाप्रति गम्भीर रहेको समेत जारी विज्ञप्तिमा उल्लेख छ ।
उक्त विज्ञप्तिमा सिमित साधन–स्रोत हुँदा पनि निजी अस्पतालहरूले आफ्नो सम्पूर्ण ध्यान कोभिड संक्रमित बिरामीहरूको उपचार सेवामा केन्द्रित गरिरहेको बताइएको छ । महामारीको अवस्थामा अत्यावश्यक साधनस्रोत राज्यले उपलब्ध गराउनुको सट्टा गैरजिम्मेवारपूर्ण निर्णय गरिएको अस्पताल सन्चालकहरुको दावी छ ।
सरकारलाई ध्यानाकर्षण गराउँदै अफिनले तत्काल आफ्नै अक्सिजन प्लान्ट जडान गर्न नसकिने बताएको छ । देशभर निषेधाज्ञा जारी रहेको र अन्तर्राष्ट्रिय हवाईसेवा पनि बन्द रहेको बेला द्रूत ढुवानीको विकल्प नभएको,अक्सिजन प्लान्ट भनेको बजारबाट टप्प टिपेर जडान गर्ने उपकरण नभएको हुनाले विश्वको कुनै पनि उद्योगले खरिद सम्झौतापछि ३ महिना नहुँदै प्लान्ट तयार गरिदिने अवस्था नरहेको जनाउँदै प्लान्ट भित्रिए पछि जड़ान गर्न कम्तीमा १५ दिन लाग्ने बताइएको छ ।
यस्तै,१ सय शैयाको अस्पतालका लागि नेपाल सरकारको मापदण्डबमोजिमको प्लान्टको मूल्य कम्तीमा पनि २ करोड पर्छ भने जडानका लागि चाहिने पूर्वाधार निर्माण गर्न थप ५० लाख आवश्यक पर्ने बताउँदै अफिनले अहिले कुनै पनि निजी अस्पतालले प्लान्ट जोड्न नसक्ने विज्ञप्तिमार्फत बताएको छ ।
अक्सिजन व्यवस्थापनका लागि तत्काल प्रभावकारी कदम चाल्नुको सट्टा निजी अस्पतालहरूलाई १५ दिनभित्र अक्सिजन प्लान्ट जडान गर्न हावादारी निर्देशन दिएर सरकार आफ्नो दायित्वबाट विमुख हुन खोजेको आरोपसमेत जारी विज्ञप्तिमार्फत जनाइएको छ ।
देशैभरि अक्सिजन अभावको वर्तमान समस्या समाधान गर्न सरकारको तर्फबाट विशेष कदमहरु चालिनुपर्ने र उक्त प्रयासमा सरकारको कदममा कदम मिलाई साथ दिन निजी अस्पतालहरु तयार रहेको पनि अपिलमा उल्लेख छ ।
टिप्पणीहरू