माओवादीको विश्लेषण : माधव नेपाल टिकेकै हुन्,अरुले खुट्टा कमाए
नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीले माधव नेपाल समूहभित्र खेलेर आफू अनुकूल परिस्थिति सृजना गरेको निष्कर्ष निकालेको छ ।
हिजोको स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको रिपोर्टिंग उद्धृत गर्दै माओवादी केन्द्रका एक प्रभावशाली नेताले यस्तो निष्कर्ष सुनाएका हुन् ।
माधव नेपालले अन्तिमसम्म प्रयास गर्दा पनि उक्त समूहकै केही नेताका कारण ओली सफल भएको उनले बताए ।
मधेसीहरुमा झन् ठूलो चलखेल “भयो । ओलीजीले पनि फकाए । दक्षिणतिरकाहरु त खुलेरै लागेको देखियो ।”
‘माधव नेपालजी चैं लास्टसम्मै अडिएको देखिन्छ । तर,उहाँका केही नेताले खुट्टो टेक्न सकेनन् । त्यसको फाइदा ओलीजीले लिनुभयो’,बैठकका कुरा सुनाउँदै उनले भने ।
उनले माधव नेपाल समूहभित्र ओलीले मज्जाले खेलेको पनि बताए । नेपाल समूहका नेताहरु तरंगित हुँदा ओलीले चलखेल गरेको उनको बुझाइ छ ।
माओवादी केन्द्रले जसपामा पनि त्यसैगरी चलखेल भएको बताएको छ । ‘मधेसीहरुमा झन् ठूलो चलखेल भयो । ओलीजीले पनि फकाए । दक्षिणतिरकाहरु त खुलेरै लागेको देखियो’,उनले भने ।
माओवादीले पछिल्ला घटनाक्रमले कम्युनिष्ट आन्दोलनलाई क्षति पुगेको ठहर पनि गरेको छ । खुलमखुला बैदेशिक हस्तक्षेपलाई आमन्त्रण गरेर राष्ट्रियता र कम्युनिस्ट आन्दोलनलाई कमजोर बनाउने प्रयास भएको भन्दै माओवादीले नयाँ ढंगले ध्रुवीकरणको खाँचो औंल्याएको छ ।
‘कम्युनिष्ट आन्दोलन र राष्ट्रियतामाथि गम्भीर प्रहार भएको छ । अब नयाँ ढंगले छलफल गर्नुपर्छ भनेर बैठकमा कुरा उठ्यो । हिजोको घटनाक्रम सही भएन भन्ने हाम्रो निष्कर्ष छ’, ती नेताले भने ।
माओवादीले अब ६ गतेको राष्ट्रियसभा निर्वाचनमा पनि यसको प्रभाव पर्ने अनुमान गरेको छ ।
टिप्पणीहरू