ओलीसँग छलफल भएको हो, सहमति होइन : रावल

ओलीसँग छलफल भएको हो, सहमति होइन : रावल

नेकपा एमालेका उपाध्यक्ष डा. भीम रावलले प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीसँग सहमति नभएको बताउनुभएको छ ।

हिजो चपली हाइटमा अध्यक्ष ओली र बरिष्ठ नेता माधव नेपालबीच मिलेर जाने समझदारी जुटेको चर्चा चलिरहेका बेला रावलले छलफल भएपनि कुनै सहमति नभएको प्रष्ट पार्नुभएको हो ।

शुक्रबार संघीय संसद भवन नयाँ बानेश्वरमा कोभिड-१९ विरुद्धको खोप लगाएर बाहिरिदै गर्दा संचारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिदै उहाँले आन्तरिक व्यवस्थापनका दृष्टिले स्थिति केही फेरबदल भएपनि मूलभूत फेरबदलको अनुभूति हुनका लागि अझै मेहनत गर्नुपर्ने अवस्थामै रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘हाम्रो देशको राजनीतिको जुन अवस्था छ, राजनीतिले दिशा परिर्वतन गरिसकेको अवस्था छैन । यद्यपि त्यसलाई राजनीतिक दलहरुको दृष्टिकोणबाट,आफ्ना आन्तरिक व्यवस्थापनको दृष्टिकोणबाट स्थितिमा थोरै फेरबदल भएको मान्छेलाई लाग्न सक्छ तर त्यसमा मूलभूत फेरबदल भएको छैन ।’

उहाँले मुलुकको समस्या समाधानका लागि राजनीतिलाई ठीक बाटोमा ल्याउनुपर्नेमा जोड पनि दिनुभयो । त्यसका लागि थप मेहनत आवश्यक रहेको उहाँको भनाइ छ । ‘साँच्चीकै कोरोनाको महामारी छ, जनताका समस्याहरु छन्, राजनीति त्यतातिर केन्द्रित भएर संविधानले परिकल्पना गरेको सरह, हामी जनताले परिकल्पना गरेको कुरा, त्यतातर्फ कसरी जाने भन्नेमा अझै मेहनत गर्नुपर्ने देखिन्छ’, उहाँले भन्नुभयो ।

एमालेभित्रको संकट निवारण भएको हो भन्ने संचारकर्मीको प्रश्नमा उहाँले आफूहरुको अडान यथावत रहेको प्रतिक्रिया दिनुभयो । बिहीबार अध्यक्ष एवंम् प्रधानमन्त्री ओलीसंग भएको वार्तामा केही सकारात्मक कुरा भएपनि त्यसले आकार नलिईसकेको प्रतिक्रिया उहाँले दिनुभयो ।

‘हामी अहिले पनि कानूनी शासन मान्ने पद्धतिअनुरुप देश, राजनीतिक दलहरु चल्नुपर्छ भन्ने मान्यता राख्ने भएको हुनाले नवौं राष्ट्रिय महाधिवेशनको निर्णय र मार्गनिर्देशन बमोजिम केन्द्रीय कमिटी यथावत रहनुपर्दछ र अमिल्दा कुराहरु रद्द भएर पार्टी स्वभाविक रुपमा अघि जानुपर्छ भन्ने मान्यतामा कायमै छौ’, उहाँले भन्नुभयो, ‘यस सन्दर्भमा हिजो जे जति कुराहरु भए केही सकारात्मक अवश्य छन् । तर, त्यसले ठोस आकार ग्रहण गर्न अझै बाँकी छ ।’

टिप्पणीहरू