सिङ्गै जिल्लालाई निःशुल्क खोप : पहिला बाँच,पछि विकास गरौंला
उदयपुरवासीलाई कोरोनाबाट जोगाउन उदयपुर विकास बोर्डले निःशुल्क खोपको व्यवस्था गर्ने भएको छ । उदयपुर विकास बोर्डका संयोजक तथा त्रियुगा नगरपालिकाका प्रमुख बलदेव चौधरीको संयोजकत्वमा बसेको बैठकले यो निर्णय गरेको हो ।
१८ वर्षभन्दा माथि उमेर समूहका करिब तीन लाख ५० हजार उदयपुरवासी कोभिड १९ विरुद्धको खोपबाट वञ्चित छन् ।खोप किन्नको लागि आवश्यक अनुमानित बजेट करिब ३५ करोड रुपैयाँ बोर्डले जिल्लाका आठै वटा पालिकाबाट संकलन गर्ने भएको छ । सो बजेट ‘क्षेत्रगत बजेट बाँडफाँडमा पूर्वाधारतर्फ विनियोजन गरिने सम्पूर्ण रकम कोभिड व्यवस्थापन’ अन्तर्गत रकमान्तर गरी खर्च गर्ने सहमति भएको हो ।
यसका लागि संघीय सरकारलाई अनुरोध गर्ने निर्णय भएको जानकारी अध्यक्ष चौधरीले दिनुभएको छ । खोपले कोभिड १९को कहरबाट उदयपुरवासीलाई बचाउनको सहयोेग पुग्ने विश्वास लिइएको छ ।
यसैगरी सो बैठकले बेलका नगरपालिकास्थित बेलका नगर अस्पतालमा एक सय दिनभित्रै करिब १ करोड १९ लाख रुपैयाको लागतमा अक्सिजन प्लान्ट स्थापना गर्ने निर्णयसमेत गरेको छ ।
प्लान्ट स्थापनाको लागि बेलका नगरपालिकाले बिउ पूँजीस्वरुप २० लाख र चौदन्डीगढी,कटारी र त्रियुगा नगरपालिकाले दस दस लाख र रौतामाई,उदयपुरगढी, लिम्चुङबुङ र ताप्ली गाउँपालिकाले पाँच पाँच लाखको दरले रकम जम्मा गर्ने सहमति भएको छ ।
सो प्लान्टले प्रतिघण्टा ६ दशमलव ५ क्यूबिक मीटर ग्याँस उत्पादन गर्ने लक्ष्य राखिएको छ । अर्थात् २४ सिलिन्डर उत्पादन हुन्छ । प्लान्ट निर्माण गर्नको लागि एक करोड रुपैयाँ जुटाउने सहमति हुनुका साथै बेलका नगर प्रमुख दुर्गाकुमार थापाको संयोजकत्वमा उपप्रमुख राजकुमारी चौधरी, सदस्य सुशील सेढाई,मनोज तामाङ,सुरेन्द्र राई,सुकदेव चौधरी, मनकुमारी राई,ध्रुव राई र सदस्य सचिवमा प्रमुख प्रशासकीय अधिकृत अर्जुन निरौला रहेको १० सदस्य सर्वदलीय समितिसमेत गठन गरेको छ ।
‘बाँचे न विकास,नबाँचे त के के ?’ पूर्वाधार विकासको बजेट कोरोना खोपका लागि रकमान्तर गर्नु पर्ने कारण बताउँदै कटारीका मेयर श्रेष्ठले भने ‘विकासपछि पनि गर्दै जाम्ला’ । स्मरणीय छ, यसै बोर्डको अगुवाइमा बेल्टार सातधारेमा ५ करोडको लागतमा कोभिड १९ अस्पताल निर्माण तथा सञ्चालन पनि हुँदै आएको छ ।
जुम एप्सको प्रयोग गरी आयोजना गरिएको बैठकमा बोर्डका सदस्यहरु कटारी नपा प्रमुख ज्ञानेन्द्र श्रेष्ठ,चौदन्डीगढी प्रमुख खगेन्द्र राई,बेलका नपा मेयर दुर्गाकुमार थापा,ताप्ली गाउँपालिका प्रमुख उद्धवसिंह थापा,उदयपुरगढी गापा अध्यक्ष मानबहादुर मगर,रौतामाई गापा अध्यक्ष गजेन्द्र खडका र लिम्चुङबुङ गाउँपालिका प्रमुख मेजर राई सदस्य रहेका छन् ।
जुम बैठकले सप्तरीको सप्तकोशी नगरपालिकाको उपप्रमुख आशा चौधरीको निधनमा श्रध्दान्जली व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ ।
टिप्पणीहरू