चौरजहारीमा एक सातामा अक्सिजन प्लान्ट सञ्चालन हुने

चौरजहारीमा एक सातामा अक्सिजन प्लान्ट सञ्चालन हुने

कोरोना संक्रमितहरुको उपचारको लागि अक्सिजन अभाव भईरहेको बेला रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले अक्सिजन प्लान्ट सञ्चालन गर्ने भएको छ ।

कोरोना भाइरसको नयाँ भेरियन्टको कारण संक्रमितहरुको संख्या बढीरहेको र उपचारको क्रममा अक्सिजन नभएर ज्यान गुमाउनेहरुको संख्या बढीरहको बेला चौरजहारीले अक्सिजन प्लान्ट जडान गर्ने भएको हो ।

लक्षण सहितका कोरोना भाइरस संक्रमितहरुको सफल उपचारको लागि अक्सिजन ल्यान्ट जरुरी रहेकोले खरिदको काम सुरुवात गरिएको नगरपालिकाले जनाएको छ ।

चौरजहारी नगरपालिका प्रमुख बिशाल शर्माले अक्सिजन प्लान्ट जडान गरेर हाल यस क्षेत्रका संक्रमितहरुको उपचारमा प्रभावकारीता ल्याउने बताए । उनका अनुसार कोरोना संक्रमितका अतिरिक्त अन्य बिरामीहरुको लागि समेत अक्सिजन प्लान्ट अत्यावश्यक रहेको छ ।

चौरजहारी अस्पतालसँग समन्वय गरेर अक्सिजन प्लान्टको खरिद र जडानको काम सुरुवात गरिएको र प्राविधिक समस्या नआएमा एक सातामा सञ्चालन हुने नगर प्रमुख शर्माले जनाए ।

अक्सिजन प्लान्ट सञ्चालनको लागि करिब ९० लाखको लागत अनुमान गरिएको छ । ‘अहिले कर्णाली प्रदेश सरकारलाई केहि सहयोग गरिदिनु प¥र्यो भनेका छौ’, नगर प्रमुख शर्माले भने ‘प्रदेशबाट हुन सकेन भनेपनि नगरपालिकाले बजेट व्यबस्थापन गर्नेछ ।’

हाललाई चौरजहारी अस्पतालसँग समन्वयमा सञ्चालन गरिने उक्त अक्सिजन प्लान्टबाट अक्सिजन उत्पादन र सिडिण्डरमा जम्मा गर्ने काम हुनेछ ।

चौरजहारी नगरपालिकाले कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचारको लागि बिभिन्न सचेतिकरणका कार्यक्रमको साथै ४५ बेडको आइशोसलेन अस्पताल समेत सञ्चालन गरेको छ । नरपालिकाका विभिन्न ३ ठाउँमा १५/१५ बेडका आइसोलेसन अस्पताल निर्माण गरेको नगरपालिकाले जनाएको छ ।

नगर क्षेत्रका खोलागाउँ, कोटजहारी र चौरजहारी सेवा केन्द्रमा अक्सिजन सिलिन्डर, कन्सन्टेटरको व्यवस्था सहितका आईसोलेशन अस्पताल बनाईएको नगर प्रमुख शर्माले उल्लेख जानकारी दिए ।

चौरजहारी नगरपालिकाले १ करोड २३ लाख रुपैयाँमा गत बर्षको असार दोस्रो साता देखि पिसिआर परिक्षण प्रयोगशाला समेत सञ्चालनमा ल्याएको थियो ।

टिप्पणीहरू