बादलका लागि भोट माग्दै ओलीले यसो भन्नुभयो :-

बादलका लागि भोट माग्दै ओलीले यसो भन्नुभयो :-

भोलि हुने राष्ट्रियसभा उपनिर्वाचनमा रामबहादुर थापा बादललाई भोट हाल्न एमाले अध्यक्ष केपी शर्मा ओलीले बागमतीका मतदातालाई अपिल गर्नुभएको छ । एमालेकै दुई उम्मेदवार मैदानमा उत्रिएका बेला ओलीले बादलका पक्षमा भोट माग्नुभएको हो ।

बादलको विजयले कम्युनिष्ट आन्दोलनको भावनात्मक एकतामा समेत बल पुर्याउने बताउँदै ओलीले एकतावद्ध भएर मतदान गर्न आफ्ना मतदातालाई अपिल गर्नुभएको छ ।

‘जेठ ६ गते बागमती प्रदेशबाट प्रतिनिधित्व हुने राष्ट्रियसभा सदस्यको रिक्त पदमा कमरेड रामबहादुर थापा हाम्रो पार्टीका उमेदवार हुनुहुन्छ । उहाँ नेपालको कम्युनिष्ट आन्दोलनको एकजना बरिष्ठ नेता हुनुहुन्छ । उहाँको विजयले कम्युनिष्ट आन्दोलनको भावनात्मक एकतामा बल पुर्याउने छ । तसर्थ,यस निर्वाचनमा एकतावद्ध भएर आफ्नो पार्टीका उम्मेदवारलाई विजयी बनाउनु हुन आग्रह गर्दछु’,ओलीद्वारा जारी अपिलमा भनिएको छ ।

बादलको विजयले पार्टीको सामर्थ्य,एकता र अनुशासनलाई स्थापित गर्ने भएकाले निर्वाचनको विशेष महत्व रहेको ओलीको भनाइ छ । नेकपाको विरासत बोकेको र नेपालको वामपन्थी तथा लोकतान्त्रिक आन्दोलनको मूल प्रवाह एमाले नै हो भन्ने पुष्टि गर्न पनि बादलको जित आवश्यक रहेको ओलीले दाबी गर्नुभएको छ ।

अहिले एमालेमा समस्या रहेको स्वीकार

ओलीले निर्वाचनलाई पार्टी एकतालाई सुदृढ गर्ने अभियानका रुपमा लिनसमेत आग्रह गर्नुभएको छ ।

‘अग्रजहरुले अन्त्यन्त कष्टसाथ् जन्माएको,हुर्काएको र जनताको माया एवं विश्वासको जगमा यस बिन्दुसम्म आइपुगेको पार्टीलाई बिभिन्न समयमा विभिन्न कोणबाट कमजोर पार्ने प्रयासहरु पनि हुँदै आएका छन् । अहिले पार्टीभित्र देखापरेका समस्या समाधान गरी पार्टीलाई एकताबद्ध बनाउनका लागि कार्यदल बनेर काम समेत सुरु भैसकेको छ । यस परिप्रेक्ष्यमा पार्टी एकतालाई सुदृढ गर्नु हामी सबैको कर्तव्य हो’ अध्यक्ष ओलीले अपिलमा भन्नुभएको छ ।

पार्टीको आधिकारिक उमेदवारविरुद्ध उम्मेदवारी दिनु र पार्टी निर्णयको विपक्षमा उभिएर मत खसाउने जस्ता विषय कल्पना बाहिरको हुने भन्दै उहाँले पार्टी निर्णयविरुद्ध गएर मतदान गरे स्वीकार्य या क्षम्य नहुने चेतावनी पनि दिनुभएको छ ।

पार्टीका बरिष्ठ नेता माधव नेपाल पक्षले काँग्रेस,माओवादी केन्द्र र जसपाको समर्थनमा एमालेकै डा. खिमलाल देवकोटालाई उम्मेदवार बनाएको छ । आफ्नै निवासमा भोट माग्न पुग्नुभएका बादललाई हिजोमात्र नेता नेपालले आफूहरुको आधिकारिक उम्मेदवार खिमलाल नै भएको बताउनुभएको थियो ।

राष्ट्रियसभा निर्वाचनले एमाले विवादको छिनोफानो गर्ने अनुमानसमेत गरिएको छ । यसवीच बागमतीमा एमालेले जितेका सबै स्थानीय तहका प्रमुख उप प्रमुखलाई आजै बेलुका हेटौंडा आइपुग्न मुख्यमन्त्री डोरमणी पौडेलले अनुरोध गरेका छन् । उनीहरुको खानपिन र बसाइ खर्च राष्ट्रिय सभा उम्मेदवार तथा गृहमन्त्री रामबहादुर थापा बादलले ब्यहोर्ने जानकारी आएको छ ।

टिप्पणीहरू