सिएमसिसीमा कसरी छानिए पूर्व जर्नेल बालानन्द ?

सिएमसिसीमा कसरी छानिए पूर्व जर्नेल बालानन्द ?

गत शुक्रबार नेपाल सरकारको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड १९ संकट व्यवस्थापन अध्यादेश २०७८ जारी गर्नुभएको थियो । यसअघि कोरोना व्यवस्थापन तथा रोकथामको लागि सरकारले उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित सीसीएमसीको कामकारबाही निकै आलोचित भएपछि सरकारले उक्त अध्यादेश जारी गरेको बताइन्छ ।

अहिले त्यहि विधेयकअनुसार सरकारले प्रधानमन्त्रीको अध्यक्षतामा क्राइसिस म्यानेजमेण्ट कोअर्डिनेशन सेन्टर (सीएमसीसी) को गठन गरेको हो । उपप्रधानमन्त्री पोखरेल त्यसको सदस्य हुनुहुन्छ भने अवकाशप्राप्त तीन तारे जर्नेल बालानन्द शर्मालाई उक्त सेन्टरको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गरिएको छ ।

सेनासँग निकै पटक खटपट भएका पोखरेललाई रक्षामन्त्रीबाट हटाएर प्रधानमन्त्रीको कार्यालय हेर्ने उपप्रधानमन्त्री बनाइएको छ । त्यसपछि पनि सेनासँग उहाँको सम्बन्ध सीसीएमसीमा चिसो भएकाले सरकारले बाध्य भएर अध्यादेशमार्फत् सीएमसीसी गठन गर्नुपरेको बताइन्छ । जसमा उपप्रधानमन्त्री सदस्यमा सीमित हुनुभएको छ भने सेनाका अवकाशप्राप्त जर्नेलले प्रमुख कार्यकारीको जिम्मेवारी पाउनुभएको छ ।

त्यसरी एकाएक सेनाका अवकाशप्राप्त अधिकारीलाई त्यति महत्वपूर्ण ठाउँमा लगिएको होला भनेर जनआस्थाले राखेको जिज्ञासामा सेनाको उच्चस्रोत भन्छ ‘हाम्रो औपचारिक सिफारिशमा भएको होइन । तर उहाँ समग्रमा काबिल व्यक्तित्व चाहिँ हुनुहुन्छ । त्यसैले प्रधानमन्त्री को रोजाईमा पर्नुभएको होला ।’ उहाँ अहिले पनि सेनाको राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयको काममा सक्रिय रहनुभएको बताइन्छ ।

त्यही स्रोतले भनेको छ ‘जसभन्दा अपजस बढी आउने काम भएकाले सेनासँगै जोडिएको मान्छेलाई जिम्मा दिएको देखाएर सरकारले एक तीरले दुई शिकार गरेको पनि हुनसक्छ । अर्कोतर्फ निष्पक्ष र पारदर्शी ढंगले काम गरौंभन्दा सरकारी कर्मचारीसँग सेनाको कुरो नमिल्ने सबैलाई थाहा छ । यसअघि गैरसैन्य व्यक्तिलाई कार्यकारी बनाउँदा लफडा भएको प्रधानमन्त्रीलाई राम्रोसँग थाहा भएकाले पनि शर्माको छनौट भएको हुनसक्छ ।’

कोरोना संक्रमण बढ्दै गएकाले मुलुकभर स्वास्थ्य संकटकाल लाग्ने सम्भावना पनि त्यत्तिकै छ । त्यस्तो अवस्थामा गर्नुपर्ने महत्वपूर्ण काममा फेरि अरबौं रुपैयाँका सामान किन्नुपर्ने हुन्छ । त्यसलाई पनि ध्यानमा राखेर तुलनात्मक रुपमा स्वच्छ छवि भएकाको खोजी गर्ने क्रममा बालानन्दलाई रोजिएको भन्नेहरू पनि निकै देखिन्छन् ।

सैन्यस्रोतका अनुसार शर्मा पहिले राष्ट्रसंघीय मिसनमा फोर्स कमाण्डर हुनुहुन्थ्यो । त्यसैगरी माओवादी सेना समायोजनको समयमा पनि उहाँ समायोजन कमिटीको संयोजक नै हुनुहुन्थ्यो । उहाँले माओवादी सेना समायोजनको बेला राति अबेरसम्म कार्यालयमा बसेर महिनौं काम गर्नुभएको थियो ।

उहाँलाई सेनाभित्र निकै फेयरमध्येका एक जना जर्नेलको रुपमा लिने गरिएको स्रोतको दाबी छ । त्यसैले प्रधानमन्त्रीले अध्यक्षता गर्ने उक्त सेन्टरमा स्वास्थ्य मन्त्रालयका डाक्टरहरूलाईभन्दा सेनासँग सम्बन्धित व्यक्ति राख्दा उपयुक्त हुने ठानिएको चर्चा गरिएको छ । सेन्टरमा काम गर्नको लागि निजामतीको तर्फबाट सहसचिवहरू भइहाल्छन् । त्यसैगरी सेनाका एकजना मेजर जनरल,सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका एआइजीहरू पनि उक्त सेन्टरमा रहने व्यवस्था गरिएको छ ।

पहिले कोभिड क्राइसिस म्यानेजमेण्ट सेण्टर (सीसीएमसी) भनिएको उक्त कमिटीलाई अध्यादेश जारी गभएपछि क्राइसिस म्यानेजमेण्ट कोअर्डिनेशन सेण्टर (सीएमसीसी) भन्न थालिएको हो । स्वास्थ्य संकटकाल लागेमा उक्त अध्यादेशको व्यवस्था ‘फुल फ्लेज्ड’ मा कार्यान्वयनमा आउने छ ।

यसबीच सेनापतिले दुई पटक प्रधानमन्त्रीसँग भेट्नुभएको सन्दर्भलाई अहिले शर्माको नियुक्तिसँग जोडेर हेरिएको छ । स्रोत भन्छ ‘सम्भवतः प्रधानमन्त्रीले सेनासँग उपयुक्त व्यक्तिको चयनको निम्ति सल्लाह मागेको हुनसक्छ । त्यसो हुँदा सेनालाई पनि कम्फरटेबल हुने नै भयो ।

शर्मालाई अवकाशप्राप्त वरिष्ठमध्येका एक क्षमतावान सैनिक अधिकारीको रुपमा लिइन्छ । उहाँलाई पहिले नेपाली काँग्रेसले चिफ बनाउन खोजेको चर्चासमेत भएको थियो ।

टिप्पणीहरू