कोरोनाले गाउँ छपक्कै,घुन्साका सबै बिरामी,निषेधाज्ञा जेठ मसान्तसम्म निश्चित
कोरोना संक्रमणको दोस्रो लहर मुलुकको ग्रामीण भेगमा भुसको आगोझैँ फैलिएको छ । शहरी क्षेत्रमा संक्रमणदर केही घटेको देखिए पनि गाउँमा परिस्थिति भयावह रहेको स्वास्थ्य तथा सुरक्षा स्रोतले बताएको छ ।
शहरमा गरिएको परीक्षणमा संक्रमण दर घटेकाले महामारी नियन्त्रणउन्मुख भन्न नसकिने स्रोतको दाबी छ । हालै गोरखाको बारपाकमा गरिएको परीक्षणमा १ सय ३० जनामा पोजिटिभ देखिनुले पनि गाउँमा प्रकोप भयावह भइसकेको पुष्टि हुन्छ । सुरक्षा स्रोतले भनेको छ,‘परीक्षण नगर्दासम्म बारपाकमा संक्रमण देखिएको थिएन । अन्य गाउँको अवस्था पनि यस्तै हो । त्यसैले महामारीको परिस्थिति डरलाग्दो गरी अघि बढेको छ ।’
आजसम्म पनि सरकारको ध्याउन्न राजधानी र ठूला शहरको मात्र परीक्षणमा केन्द्रित देखिन्छ । ग्रामीण भेग अझै पनि प्राथमिकतामा परेको छैन । गाउँमा सबैजसो संक्रमित भए पनि परीक्षण नभएकाले त्यो सरकारी तथ्याङ्कमा आउन सकेको छैन । ग्रामीण भेगमा निधन भएकाको बारेमा थाहा हुन नसकेकाले कारण कोरोना हो वा अन्य भन्नेमै अन्यौल छ । स्थानीय तहले समेत त्यसमा ध्यान दिएको देखिँदैन ।
अहिलेको परिस्थितिलाई नियाल्दै सरकारले हाल जारी निषेधाज्ञालाई जेठ मसान्तसम्म लागू गर्ने पक्का भएको छ ।
टिप्पणीहरू