झाडापखाला सामना गर्न तयारी अवस्थामा रहेको स्वास्थ्य मन्त्रालयको दाबी

झाडापखाला सामना गर्न तयारी अवस्थामा रहेको स्वास्थ्य मन्त्रालयको दाबी

स्वास्थ्य मन्त्रालयले आगामी मनसुनको समयमा आउनसक्ने स्वास्थ्य समस्याहरुको सामना गर्न आफू तयारी अवस्थामा रहेको जनाएको छ ।

विपत्तिको बेलामा आइपर्ने विभिन्न स्वास्थ्य समस्याको उपचार गर्न स्वास्थ्य मन्त्रालय तयारी अवस्थामा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता तथा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्णप्रसाद पौडेलले बताउनुभएको छ ।

वर्षा याममा डेंगु, मलेरिया, झाडापखाला, ज्वरोलगायतको स्वास्थ्य समस्या आउने भन्दै उहाँले ती समस्या समाधानको निम्ति स्वास्थ्य मन्त्रालय तयारी अवस्थामा रहेको बताउनुभयो । विपद्बाट तत्काल उद्दार गर्न प्रत्येक स्थानीय तहमा र्यापिड रेन्स्पोन्स टिम गठन गर्न स्वास्थ्यकर्मीलाई तालिम दिएर तयारी अवस्थामा राखिएको समेत उहाँले दाबी गर्नुभएको छ ।

उहाँले भन्नुभयो ‘प्रत्येक स्थानीय तहमा र्यापिड रेन्सपोन्स टिम कसरी गठन गर्ने भनेर स्वास्थ्यकर्मी र स्वास्थ्य कार्यालयहरुलाई तालिम दिएर जनशक्तिलाई तयारी अवस्थामा राखिएको छ । मनसुनसँगै झाडापखाला, ज्वरो, मलेरियाका बिरामी पनि बढि देखिन्छन् । स्थानीय तहमा रहेका द्रुत प्रतिकार्य समिति (र्यापिड रेन्पोन्स टीम) ले त्यहीँबाट आवश्यक रेस्पोन्स गर्नुहुनेछ ।’

प्रवक्ता पौडेलले आवश्यक स्वास्थ्य सामाग्री तयारी अवस्थामा रहेको जानकारी दिनुभएको छ । स्थानीय तह र प्रदेशले केन्द्र सरकारसँग माग गरेको खण्डमा केन्द्रमा सम्बोधन गर्नको लागि र्यापिड रेस्पोन्स टिम समेत बनाइसकेको उहाँले बताउनुभयो ।

टिप्पणीहरू