राउटे युवतीलाई सताउनेहरु समातिए
राउटे समुदायका युवतीलाई दुर्व्यवहार गरेको आरोपमा प्रहरीले सुर्खेतको गुर्भाकोट नगरपालिका मेहलकुनाबाट होटल संञ्चालक सहित तीन जनालाई पक्राउ गरेको छ।
युवाले मादक पदार्थ सेवन गराई होटलमा लगेर दुर्व्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले उनीहरुलाई समातेको हो।
पक्राउ पर्नेमा गुर्भाकोट नगरपालिकाका ३५ बर्षका दोमनबहादुर घर्ती,२४ बर्षका भुपेन्द्र बुढा र २९ बर्षका होटल संञ्चालक बिनोद पुन रहेको प्रहरी चौकी मेहेलकुनाले जनाएको छ।भिडियो सामाजिक सञ्जालबाट सार्वजनिक भएपछि स्थानीयले तत्काल अनुसन्धान गरी कारवाहीको माग गरेका छन् ।
पछिल्लो समय सामाजिक सञ्जाल युट्युब,टिकटक र फेसबुकमा भाइरल नै भएका राउटे समुदायका युवतीहरु माथि दुर्व्यवहार हुन थालेको छ। भिडियो,फोटो खिच्न भन्दै राउटे समुदायमा पुग्ने स्थानीय युवाहरुबाट राउटे युवती दुर्व्यवहारको शिकार भएका हुन् ।
घटनाको बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। यसअघि लेकबेशी नगरपालिकाको कल्याणमा बस्दै आएका राउटे समुदाय केही दिनअघि मात्रै गुर्भाकोट नगरपालिका वडा नं.११ आँपसोती जनैघाटस्थित भेरी नदीमा बसाई सरेका हुन् ।
टिप्पणीहरू