सार्वजनिक यातायात सञ्चालनबारे यातायात महासंघको असहमति
सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालले सार्वजनिक यातायात आंशिक सञ्चालन गर्न दिने सरकारको निर्णयप्रति असहमति जनाएको छ ।
महासंघले मंगलबार साँझ प्रकाशित गरेको विज्ञप्तिमा उपत्यकामा २४ सिट क्षमताभन्दा माथिका ठूला सवारी साधन मात्र सञ्चालन गर्ने निर्णयप्रति गम्भिर असहमति जनाउँदै उक्त निर्णय सच्याउन अनुरोध गरेको छ ।
महासंघले कोरोना महामारीका कारण लामो समयदेखि बन्द रहेको यातायातका समस्या समाधानका लागि पटक पटक सुझाव पेश गरेको, तर सरकारले बेवास्ता गरेको महासंघले आरोप लगाएको छ । उसले भनेको छ ‘देशभरका ४ लाख यातायातमा कार्यरत ११ लाख मजदुर र तिनमा आश्रित ५० लाख मानिस प्रभावित भएकाले गम्भीर समस्यामा पर्नेछन् ।’
यस्तै सरकारले इन्धनमा पटक पटक मूल्यवृद्धि गरे पनि भाडा समायोजनबारे कुनै सुनुवाई नभएकोमा समेत उसले आपत्ति जनाएको छ । महासंघले बैंक तथा वित्तीय संस्थाको किस्ता ब्याजमा छुट, बिमा समायोजन, कर राजश्वमा छुट जस्ता मागहरू समेत अघि सारेको छ ।
आफूले राखेका मागहरूलाई प्राथमिकतामा राखेर तत्काल गलत निर्णय सच्याउन महासंघले सरकारको ध्यानाकर्षण समेत गराएको छ ।
टिप्पणीहरू